भूमिप्रसाद पाठक,

बेलबारी,८ भदौ ।  बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली आफ्नो पछिल्लो अमेरिका प्रवासको क्रममा सम्मानित भएकी छिन् । अमेरिकाको भर्जिनिया राज्यमा आयोजित एक बृहत्त कार्यक्रममाझ पराजुलीलाई कुशल जनप्रतिनिधिको भूमिका निर्वाहका अतिरिक्त नेपाली कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै सम्पादित कार्यहरूको उँचो प्रशंसा र कदरसहित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) द्वारा सम्मान गरिएको हो ।

सात समुन्द्रपारि विदेशी भूमिमा रहेर पनि नेपाली भाषा, साहित्य र कलाकारिताको विकास प्रवद्र्धनका निम्ति क्रियाशील कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को अमेरिकास्थित विभिन्न राज्यहरुका कमिटीहरुको मनोनयन, सपथ ग्रहण एवं सांस्कृतिक सांगीतिक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम भएको सस्थाका अध्यक्ष आनन्दु लामाले अनलाइन संवादमार्फत बताए । कार्यक्रमका लागि प्रमुख अतिथि कलाकार साबु गदाल कार्कीले नेपाली मौलिकता झल्कने कला क्षेत्रको विकास र उन्नयनका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को सक्रियता र भूमिका उल्लेखनीय रहेकोले फेहरिस्त अघि सार्दै अझ सक्रिय भएर अघि बढ्नुपर्ने बताउँदै सम्मानित सबैलाई बधाई ज्ञापन गरिन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) द्वारा सम्मानित हुन पाएकोमा अत्यन्तै गर्वबोध भएको जनाउँदै विभिन्न खाले बाध्यताले विदेशी भूमिमा बसोबासरत् नेपाली कलाकारहरुको सक्रियता र गतिशीलताले नेपाली भाषाको र कला क्षेत्रको विकासमा ठूलो सहयोग पुगेको साहित्यकार एवं नगर उपप्रमुख पराजुलीले बताइन् । नेपालको राजनीतिक आन्दोलन र परिवर्तनको जागरणको कार्यसमेत देशबाहिरबाटै आरम्भ भएको प्रसंग सम्झँदै देशबाहिर बसोबास गर्नुहुनेले भाषा, कला, साहित्यमार्फत नेपाली समाजलाई समृद्ध तुल्याउन योगदान गरेको स्मरण गर्नुभयो । मोरङको अत्यन्तै उर्बर भूमि बेलबारीबाट उहाँ पुग्नुभएकी सर्वाधिक लोकप्रिय जनप्रतिनिधि एवं कर्णप्रिय स्रष्टा पराजुलीका अतिरिक्त सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने दर्जनौं साधकहरुलाई सम्मान गरिएको थियो ।