नेकपा एमालेको पहिलो विधान महाधिवेशन बाहिर प्रचार गरिएअनुसार भएको देखिएन । पहिला नै निर्धारण गरिएका प्रतिनिधिहरू महाधिवेशनमा नआएपछि ‘जो आया, सो प्रतिनिधि’ सिद्धान्तअनुसार हल भर्ने काम गरियो । सामान्यतयः कम्युनिस्टका महाधिवेशनमा निश्चित प्रतिनिधि चुनिएर आउने गर्छन् । तर, एमालेले गरेको पहिलो विधान महाधिवेशनमा सहभागी भएका प्रतिनिधि हेर्दा त्यस्तो देखिएन । कुनै एक व्यक्तिलाई स्थापित गराउन राजा महाराजाहरूले भक्त जम्मा पारेर गरिएको कार्यक्रमजस्तै थियो ।
विधान संशोधन गर्ने भनी गरिएको महाधिवेशनले सिद्धान्तका क्षेत्रमा कुनै नयाँ नीति तय गरेको देखिएन । नेकपा माओवादीसँग पार्टी एकता गर्दा आफैँले त्याग गरेको जनताको बहुदलीय जनवादलाई ब्यँुताएर ब्यानर बनाइयो । जबज त्याग गरेको ठीक कि अहिले पुनः अंगिकार गरेको ठीक ? यसको बारेमा कसैले कुरा उठाउने जोखिम मोलेन । सिद्धान्तका क्षेत्रमा जता भत्कियो त्यतै दैलोको परिस्थिति देखियो । अहिलेको एमाले अध्यक्षले जे बोले त्यही नै विधान हो भन्ने अवस्थामा देखियो । कसैले त्यसको बारेमा चुसम्म बोल्ने हिम्मत राखेनन् । यसले एमालेभित्र दास मनोवृद्धि हुर्किंदै होइन, झांगिँदै छ भन्ने प्रष्ट्यायो । अझ आफैँले त्यागेको जवजलाई ब्युँत्याएर ठूलाठूला ब्यानरमा प्रचार गर्ने काम गरियो ।

यस्तै विधान अधिवेशनमा व्यक्तिको देवत्वकरणको दृश्य यति घिनलाग्दो थियो कि सहभागीहरूले आफू कम्युनिस्ट भएको अनुभव गर्नसमेत सकेनन् । बिजुलीको पोलमा केपी, स्वागत द्वारहरूमा केपी, पानीका बोतलहरूमा केपी, खाने थाल, कचौरा र चम्चाहरूमा केपी, ट्वाइलेट पेपरहरूमा केपी । अधिवेशनहलमा केपीको सवारी राजा ज्ञानेन्द्रको सवारीको झल्को बिर्साउने खालको थियो । यी सबै कुराले त्यो विधान महाधिवेशनभन्दा ओलीको भक्ती स्तुती गर्ने कुम्भमेला जस्तै देखिन्थ्यो ।
विधान अधिवेशनको शानदार मञ्चमा कार्लमाक्र्स, लेनिनको मात्र होइन, मदन भण्डारीको फोटोसमेत हटाइएको थियो । आयोजकहरूले महान कम्युनिस्ट नेताहरूको फोटो हटाएर अब एमाले कम्युनिस्ट पार्टी रहेन भनेर प्रष्ट संकेत गरे पनि सहभागी मध्ये कतिले बुझे तर कतिपयले भेउ नै पाएनन् । त्यहाँ कुनै क्म्युनिस्ट पार्टीको कार्यक्रम हो भन्ने भान कसैले गरेनन् । व्यक्ति पुजन र स्तुति गाउने फोटो खिचेर फोसबुकमा पोस्ट्याउनु नै त्यस कार्यक्रमको उद्देश्यजस्तो भयो ।
यति मात्रै होइन, अधिवेशन वरिपरिका क्षेत्रहरूमा ‘आइ लभ यु केपी बा’ को नारा यति तीव्रताका साथ लागेको थियो कि सहभागीहरूले माक्र्सवाद, लेनिनवाद र जबजको नारा बिर्सन बाध्य भए । कम्युनिस्ट पार्टीका लागि यो भन्दा लाज र घिनको विषय अरू के हुन सक्ला ? एउटा बुर्जुवा पार्टी त कुनै सिद्धान्तले चल्छ भने कम्युनिस्ट पार्टीको झण्डा मुनि गरिएको कार्यक्रममा व्यक्तिको बाहेक अरू कुनै कुरै भएन । यस्तो पनि कम्युनिस्ट पार्टी हुन्छ ?
अधिवेशनभर वक्ताहरू आफ्नो सिद्धान्त, नीति र आगामी कार्यक्रमभन्दा अरू पार्टीलाई गाली गर्न व्यस्त देखिन्थे । त्यहाँ रहेका नेताहरूको अनुहारमा सत्ता गुमेको पीडाबाहेक अरू कुनै चिन्ता थिएन । त्यति मात्र होइन, अनिश्चित भविष्यप्रतिको चिन्ताले उनीहरूको अनुहार उज्यालो हुन दिएको थिएन । यो अधिवेशनले कम्युनिस्ट एकतातर्फ एउटा शब्द र एउटा अक्षर खर्च गरेन । एमालेका नेता कार्यकर्तालाई कम्युनिस्ट पार्टी र मुलुकको होइन केवल एक व्यक्तिबाहेक कसैको चिन्ता रहेनछ भन्ने गोदावरीमा देखियो । मुलतः यो अधिवेशनले एमाले पार्टीलाई कम्युनिस्ट आन्दोलनबाट अझ टाढा पुर्याएको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेकोले त्यहाँभित्र रहेका असल कम्युनिस्टहरूले बेलैमा बिद्रोह गर्नुको कुनै विकल्प छैन । एमालेमा रहेका कम्युनिस्ट आन्दोलनप्रति चिन्तन, र मुलुकप्रति चिन्ता राख्नेले अब विद्रोह गर्नुको विकल्प छैन ।
यति मात्र होइन, विधान महाधिवेशनको नाम दिएको तीनदिने गोदावरी मेलाभर अवधिभर गैरकम्युनिस्ट प्रतिनिधिहरूको चुरिफुरी हेर्नलायक थियो । गैरकम्युनिस्ट पार्टीबाट सोझै नेतृत्वमा भित्र्याउने कसरत अधिवेशन हलमै देखियो । त्यहाँ कम्युनिस्ट पार्टीमा लागेकाको भन्दा उनीहरूको हालीमुहाली हेर्न लायक थियो । अन्त्यमाः एमालेको उक्त अधिवेशनमा सहभागी सबैले प्रसिद्ध साहित्यकार सरुभक्तले लेख्नुभएको एउटा उपन्यास जसले मदन पुरस्कार पाएको थियो त्यो पढन अनुरोध गरे । यसले केही सिकाइ मिल्ला कि ?


















