काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै १ घण्टा कबलकारमा अड्किनु भएको छ । नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न जाँदा प्रधानमन्त्री ओली झण्डै एक घण्टा केबलकारमा अड्किनु भएको हो ।
युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाँदा केबलकारमा अडकनु भएको जानकारी दिइएको छ ।
फ्रान्सको एक स्थानीय पत्रिकाले दिएको जानकारी अनुसार २५०० मिटरको उचाइमा पुगेपछि प्रधानमन्त्री चढेको केबलकार अड्केको थियो । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरु पनि सँगै गएका थिए ।
प्रधानमन्त्रीको टोली केबलकारमा अड्किएको समयमा मौसम खराब भएको थियो । मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाउनु परेको थियो । प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका हुन् ।




















