काठमाडौं,जेठ १८ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन एवम् प्राध्यापाक रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो।
शुक्रबार बिहान ८ बजे सुरू गरिएको प्रत्यारोपण १६ घण्टापछि शनिबार बिहान १२ बजे सकिएको थियो। प्रत्यारोपणका लागि ५८ वर्षीय बुवालाई ३३ वर्षीय छोरीले कलेजो दिएकी हुन्।
शल्यक्रियामा डाक्टर नर्स र स्वास्थ्यकर्मीसहितको ५० जनाको टोली र सर्जरीमा डा। भण्डरीको नेतृत्वमा १२ जना सहभागी थिए।
यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको भए पनि शिक्षण अस्पतालमा पहिलो पटक भएको हो। भक्तपुरमा कलेजो प्रत्यारोपणले निरन्तरता पाएको छैन। अस्पतालले ५ वर्षको प्रयासपछि प्रत्यारोपण सेवा सुरु गरेको हो।
सामान्य अर्थमा भन्नुपर्दा कलेजो फेल भएका बिरामीको बिग्रिएको कलेजोलाई शल्यक्रियाको माध्यमबाट निकालेर त्यस ठाउँमा अर्को कलेजो राख्ने कार्य नै कलेजो प्रत्यारोपण हो। कलेजो मानव शरीर भित्रको सबैभन्दा ठूलो अंग हो।
यो मुटुको तल र पेटको माथिल्लो भागमा हुन्छ। कलेजो ठूलो र धेरै नसाहरु जोड्नुपर्ने भएकाले कलेजो प्रत्यारोपणलाई विश्वमै जटिल प्रत्यारोपणका रुपमा लिइन्छ।




















