काठमाडाैं,६ असार । विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आइरहेका जग्गाधनीको ७ करोड रुपैयाँ बराबरको ११ आना जग्गा पटक–पटक किनबेच भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अपरेसनबाट कीर्तिपुरस्थित ७ करोड रुपैयाँ बराबरको जग्गा घरधनीविनै पटक–पटक किनबेच भएको पाइएको हो ।

जापानमा बस्दै आएकी शान्तादेवी लोहनीको नाममा रहेको जग्गा ५ जनाको गिरोहले मिलेर तीन पटकसम्म किनबेच गरेको पाइएको ब्युरोको प्रवक्ता श्यामकुमार महतले जानकारी दिए । गिरोहका सदस्यले जग्गाधनी शान्तादेवी लोहनीको मृत्यु भएको नक्कली प्रमाणपत्र पेस गर्दै नक्कली श्रीमान् बनेर नामसारी गरेका थिए । त्यसपछि, तीन पटकसम्म किनबेच भएको अनुसन्धानका क्रममा खुलेको महतले बताए ।

खास गरी, लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका लोहनी दम्पती २०७९ साल जेठ ५ गते नेपाल आएर आफ्नो नाममा रहेको जग्गाको बायोमेट्रिक गर्न कलङ्की मालपोत पुगेपछि यस घटनाको पर्दाफास भएको थियो । कलङ्की मालपोत पुगेर आफ्नो नामको जग्गाको बायोमेट्रिक गर्न खोज्दा जग्गा धनी प्रमाणपत्र अर्कैको नाममा रहेको पाइएको थियो । त्यसपछि, लोहनी दम्पती ब्युरोको सम्पर्कमा पुगेका थिए ।

ब्युरोले घटनामाथि थप छानबिन गर्दा गिरोहले ७७ साल पुस महिनाको १५ गते शान्तादेवी लोहनीको नक्कली मृत्यु दर्ताको प्रमाणपत्र बनाएका थिए । त्यसपछि कलङ्की मालपोतमार्फत नक्कली तारानिधि लोहनीले निजको श्रीमान् हुँ भनी शान्तादेवी लोहनीको नामबाट ११ आना जग्गा आफ्नो नाममा नामसारी गरेका थिए । त्यसका लागि उनीहरूले जग्गाधनी लोहनीकी नक्कली छोरी र नक्कली छोरीको नक्कली विहे दर्ताको प्रमाणपत्र समेत बनाएको अनुसन्धानका क्रममा खुलेको छ ।

उक्त जग्गा नमसारी गरेपछि भक्तपुर नगरपालिका ११ मा बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँमा २०७७ साल फागुन महिनामा बिक्री गरेका थिए । यसरी आफ्नो जग्गा बिक्री गरेको पाइएपछि वास्तविक जग्गाधनी लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा दार्चुलाका ५२ वर्षीय महावीर चन्दले नक्कली कागजात बनाएर अर्कैको नाममा रहेको जग्गा पटक–पटक बिक्री गरेको खुलेको हो । यस कामका लागि चन्दले नक्कली नागरिकताको प्रमाणपत्र समेत बनाएको खुलेको छ ।

यस काममा संलग्न ५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा महावीर चन्दसहित सिन्धुपाल्चोकका गणेश बहादुर खनाल, सोलुखुम्बुका बाबुराम कार्की (मुख्य योजनाकार), नुवाकोटका प्रेमप्रसाद खनाल र काठमाडौँ घर भएकी डासी माया श्रेष्ठ छन् ।

उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी गरिएका नक्कली नेपाली नागरिकता प्रमाणपत्र ४ थान बरामद भएको छ । यस्तै, नक्कली तारानिधि लोहनीको नाममा रहेको जग्गाधनी प्रमाण पुर्जा, अन्य व्यक्तिको नाममा रहेको नक्कली जग्गाधनी पुर्जा, नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिका नाममा रहेको जग्गाको नक्सा, विभिन्न व्यक्तिको नाममा रहेको ६० थान अटो तथा पासपोर्ट साइजको फोटो समेत बरामद भएको छ । यसै गरी, १४ थान मोबाइल सेट र २९ थान विभिन्न कम्पनीको सिम कार्ड बरामद भएको ब्युरोले जनाएको छ ।