रामेछाप,७ असार । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुङ्गेल अस्वस्थ हुनुभएको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुम स्थिति आफ्नै घरमा मंगलबार बिहान बिरामी परेपछि उहाँलाई उपचारको लागि तामाकोसी अस्पताल मन्थलीमा भर्ना गरिएको थियो ।
उहाँलाई मुटुको समस्या देखिएपछि सो अस्पतालले काठमाडौंको नर्भिक अस्पताल रिफर गरेको छ । ढुङ्गेललाई मंगलबार बिहानै हेलिकप्टरबाट काठमाडौं लगिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
ढुङ्गेल नेकपा एमाले रामेछापको जिल्ला इञ्चार्ज समेत हुनुहुन्छ । ढुङ्गेल भूगोलमा बसेर पार्टी संगठनको काम गर्दै आउनुभएको छ । उहाँ वाग्मती प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ ।




















