शरीरमा रगत शुद्ध पार्ने प्रमुख अंग हो, मिर्गौला।यो बिस्तारै काम नलाग्ने हुँदै गएको धेरैलाई थाहा हुँदैन। मिर्गौलामा समस्या आउँदा सुरुसुरुमा कुनै लक्षण देखिँदैन।
जब लक्षण देखापर्न थाल्छन्, त्यतिबेला मिर्गौला ६० देखि ७० प्रतिशतसम्म क्षतिग्रसत भइसकेको हुन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा डा. विजयमानसिंह कटवालले लेखेका छन्।
स्वस्थ छु भनेर ठानिरहेका मानिसमा पनि मिर्गौलामा समस्या हुनसक्छ।
गलत खानपान, प्रदूषित वातावरण र अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय मिर्गौलाका रोगी बढिरहेका छन्। त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्यालाई बेवास्ता गर्ने व्यक्तिमा पनि मिर्गौला बिग्रने सम्भावना बढेर जान्छ।
मिर्गौलामा पत्थरी हुँदा पनि मिर्गौला फेल हुनसक्छ। होटलको भान्सामा लामोसमय विताउने, तातो बस्तुको सम्पर्कमा रहने अधिकांशमा मिर्गौलाको पत्थरी हुनसक्छ।
मिर्गौलामा क्यान्सर हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन। सामान्यतया मिर्गौलामा क्यान्सर भएको अधिकांशलाई थाहा हुँदैन।
यसले पनि मिर्गौला फेल हुन सक्छ। मिर्गौलामा क्यान्सर भएका मानिसको पिसावमा रगत देखापर्छ।
क्षयरोगका बिरामीमा पनि मिर्गौला संक्रमण हुनसक्छ। फोक्सोमा क्षयरोग भए रगतको माध्यमबाट मिर्गौलामा संक्रमण हुनसक्छ।
स्वस्थ मानिसले वर्षमा एकपटक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ।पिसाब र रगतको परीक्षणबाट मिर्गौलामा समस्या भए नभएको पत्ता लगाउन सकिन्छ।
मियमित व्यायाम गर्ने, मधुमेह र रक्तचापका बिरामीले नियमित स्वास्थ्य परिक्षण गराएर नियन्त्रणमा राख्ने गर्नुपर्छ।
मिर्गौलाको सुरक्षाको लागि फास्टफुड, जंकफुड, रातो मासु, अत्यधिक नुन, धेरै प्रोटिन भएका खानेकुरा खानु हुँदैन।




















