हुम्ला/ खार्पुनाथ गाउँपालिकामा कर्णाली नदीमा जीप खसेर हराएकाहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।मंगलबारदेखि नै प्रहरी, सेना र गाउँलेको सहयोगमा खोजी भइरहे पनि अझै अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जीप कर्णाली नदीमा खसेको र आवश्यक प्रविधि पर्याप्त मात्रामा नभएकाले खोजीका लागि कठिन भएको प्रहरीको भनाइ छ । मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता छन् ।
मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्ला खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुकुनामा भएको जीप दुर्घटनामा बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत सवार सबै यात्रुप्रति दुःख व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त दुर्घटनाले प्रदेश सरकार मर्माहित भएको छ । खोजीकार्यमा खटिएका सुरक्षाकर्मी, जनसमुदायका साथै सबै सरोकारवालालाई सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछु ।’ उनले दुर्घटनामा परी बेपत्ता भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेका छन् ।
त्यस्तै, दुर्घटनाको सूचना पाउनासाथ सुरक्षा टोली परिचालन गरिएको यद्यपि कठिन भूगोल, पानीको उच्च बहाव तथा दक्ष जनशक्तिको अभावका कारण उद्धार तथा खोजीकार्यको प्रयास सफल हुन नसकेको प्रेस नोटमा उल्लेख गरिएको छ । त्यसका साथै थप खोजीकार्यका लागि दक्ष जनशक्तिको परिचालनको पहल भइरहेको जनाइएको छ ।
मङ्गलबार दिउँसो १२ बजे लु १ ज ७१६६ नम्बरको जीप हुम्ला खार्पुनाथ गाउँपालिका–५ को कैल्या बालु र बेडु बिसौनी क्षेत्रको कच्ची सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको स्थानीयवासी जनाएका छन्




















