पथरी , २४ असार । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले विद्यालयहरुमा सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा र पोषण कार्यक्रमको आज समीक्षा सम्पन्न भएको छ ।
सामुदायिक र संस्थागत विद्यालयका स्वास्थ्य विषयका शिक्षकहरु सहभागि कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले विद्यालयहरुसँगको सहकार्यमा स्वास्थ्यका कार्यक्रमलाई विद्यालय सहित समुदायमा प्रभावकारी बनाइने बताउनु भयो ।

शिक्षकहरुले अभिभावकहरुका लागि समेत सचेतनाका गतिविधि गर्नुपर्ने जनाउनु भयो । त्यसप्रकारका कार्यक्रम आयोजना गर्दा स्वास्थ्य शाखाले स्वास्थ्य सम्बन्धीको सहजिकरण सहितका कार्यक्रममा सहकार्य गर्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा, नगर अस्पतालका डाक्टर कमलकान्त चौधरीले किशोरीहरुका लागि विद्यालयमा खुवाइने गरेको फोलिक एसिड र आइरन चक्कीका बारेमा जानकारी गराउनु भयो । महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल र स्वास्थ्य शाखाका एकराज खत्रीले अपाङ्गतारहित स्वस्थ बच्चाको जन्मका लागि विवाह गरेपछिकै अवस्थादेखि आवश्यक पोषणमा ध्यान दिनपर्ने उल्लेख गर्नुभयो । बाल समूहकी कृतिका भट्टराई, शिक्षक वेदनिधि खनाल सहितले मन्तव्य व्यक्त गर्नुभयो ।




















