काठमाडौं,९ साउन । फिलिपिन्सको क्वेजोन सहरमा पूर्वमेयरसहित ३ जनाको गोली हानी हत्या गरिएको छ। फिलिपिन्सको क्वेजोन सहरस्थित एटेनियो डि मनिला विश्वविद्यालयमा आयोेजित एक कार्यक्रमकाबीच एक व्यक्तिले गोली हान्दा पूर्वमेयर रोज फुरिगेसहित ३ जनाको मृत्यु भएको हो। सोही घटनामा मेयरकी छोरी घाइते भएकी छन्।

आक्रमणमा फुरिगेका एक सहयोगी र विश्वविद्यालयका एक जना सुरक्षाकर्मी पनि मारिएका हुन्। पूर्वमेयर विश्वविद्यालयमा आफ्नी छोरीको दीक्षान्त समारोहमा सहभागी भएकै बेला गोली प्रहार भएको हो।

आक्रमणमा संलग्न बन्दुकधारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। राजनीतिक पात्रहरूको हत्या हुनु सामान्य मानिने फिलिपिन्समा विद्यालय र विश्व विद्यालयहरूमा भने बिरलै गोली चल्ने गर्दछ। फुरिगे फिलिपिन्सको दक्षिणी अस्थिर शहर लामिटानका पूर्वमेयर हुन्। फिलिपिन्सको प्रहरीले हत्यारा र फुरिगेबीच लामो समयदेखि आपसी मनमुटाव र कानूनी लडाई रहेको हुनसक्ने अनुमान गरेको छ।