काठमाडौं,१२ साउन । नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई प्रमुख प्रतिपक्षी दलका नेता रञ्जन चौधरीले राष्ट्रपत्नी भनेपछि भारतीय संसदमा हंगामा भएको छ ।सत्तारुढ दल भाजपाका महिला सांसदहरूले बिहीबार सदनमै नाराबाजी गरेका हुन् ।
भाजपाले भारतीय कांग्रेसकी सभापति सोनिया गान्धीले माफी माग्नुपर्ने मागसहित नाराबाजी गरेका छन् । भाजपाकी नेतृ तथा केन्द्रीय मन्त्री स्मृति इरानीले संसदमा कांग्रेसलाई अनुशासन कक्षाको माग गरिन् । स्मृतिले भनिन्, ‘सोनिया गान्धी, तपाईंले द्रौपदी मुर्मुको अपमान स्वीकार गर्नुभएको छ । सोनिया जीले सर्वोच्च संवैधानिक पदमा महिलाको अपमान स्वीकार गरेकी छिन ।
महिला सांसदको विरोधपछि चौधरीले भुलबस आफूबाट उक्त सम्बोधन भएको तर माफी भने नमाग्ने बताए । ‘भुलवस मैले द्रौपदी मुर्मूलाई राष्ट्रपत्नी भनेर सम्बोधन गरेँ यसका लागि मलाई फाँसी नै दिए पनि दिइयोस्, सत्तारुढ पार्टीले तिललाई पहाड बनाउन खोज्दैछ’, उनले भने ।




















