- भूमिप्रसाद पाठक
पथरी,२० साउन । आमा इन्द्रमाया र बुबा कमलप्रसाद बास्कोटाको नाउँमा गठित इन्द्र–कमल बास्कोटा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका सल्लाहकार एवम् इन्द्र–कमलका ज्येष्ठ सुपुत्र लीलानाथ बास्कोटाले आज शुक्रबारको पठनपाठनपछि पथरी शनिश्चरे नगरपालिका वडा नं. ५, सुन्दरीचौक अवस्थित श्री जनता आधारभूत विद्यालयको प्रशासनिक कार्यकक्षलाई दुइटा टेबुल र १५ वटा कुर्सी सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको छ ।
विगत ४ वर्षयता सपरिवार अमेरिकाको ओहायो शहर बस्दै आउनुभएका सहयोगी लीलानाथ बास्कोटाको तर्फबाट उहाँका भाइ माइला युवराज बास्कोटाले उक्त सामाग्रीहरू विद्यालय परिसरमा पुगेर विद्यालयका प्राचार्य श्री वलबहादुर धिमाललाई उहाँको कार्यकक्षमै हस्तान्तरण गर्नुभएको हो ।

एक्ला आमा–बुबाका हामी ७ जना सन्तानमध्ये भाइ कान्छो प्रेमसागर र बहिनी तुलसा बास्कोटाको कखराकालको पठनपाठनस्थल रहेको यो विद्यालयको विद्यमान कमजोर अवस्थालाई अलिकति भए पनि उकास्न परिवारको तर्फबाट दाजु लीलानाथ बास्कोटाले यो खालको सहयोग गर्नुभएको प्रतिष्ठानका सल्लाहकार एवम् परिवारका माइला सदस्य युवराज बास्कोटाले बताउनुभयो ।
सामाग्री हस्तान्तरण गर्नुहुँदै उहाँले सामाजिक कार्यसम्पादनका दृष्टिकोणले पनि यो विद्यालयले विगतमा समाजको विश्वास जितेको, सयौं होनहार क्षमतावान विद्यार्थी जन्माएको र मेधावी छात्रछात्राको खानीको रूपमा उभिएको बताउनुभयो । विद्यालयको खाँचोपूर्तिका दृष्टिकोणले पनि यो साह्रै आवश्यक थियो, मेरो सहपाठी लीलानाथ बास्कोटाको सहयोगमा आज पूरा भयो सामाग्री ग्रहण गर्नुहुँदै प्राचार्य वलबहादुर धिमालले भन्नुभयो । बास्कोटा परिवारका २ जना उत्तराधिकारीलाई आफूहरूले पढाउन पाएकोमा खुशी व्यक्त गर्दै आफूहरू पढेकोबढेको विद्यालयप्रति परिवारजनको यो लगाव निकै सराहनीय र अनुकरणीय रहेको प्रस्टोक्ति सहित प्राचार्य श्री धिमालले यो कामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
समाजसेवी दानवीर पुण्यप्रसाद खतिवडाले उपलब्ध गराउनुभएको ५ कठ्ठा क्षेत्र ओगटेको विद्यालयमा यतिबेला ७२ जना विद्यार्थी, ३ जना दरबन्दी शिक्षकशिक्षिका, ४ जना विभिन्न स्रोतबाट परिचालित शिक्षकशिक्षिका कार्यरत हुनुहुन्छ । प्रतिष्ठानले श्रद्धेय आमा–बुबाको सम्मानमा नगरपालिका कार्यक्षेत्रभित्र कहिले विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने, सहयोगी साधनस्रोत उपलब्ध गराउने र प्रायशः हिउँदमा लक्षित समुदायका छोराछोरीलाई न्यानो कपडा, स्वीटर, जुत्तामोजा आदि वितरण गर्ने कार्य गर्दै आएको छ ।



















