एजेन्सी, २७ साउन । पूर्वी नेपालको सीमावर्ती भारतीय प्रदेश पश्चिम बंगालको हावडामा राखी पुजाको विषयमा भएको विवादमा एकै परिवारका चार जनाको हत्या भएको छ । एमसी घोष लेन क्षेत्रमा राखी पूर्णिमाको पूजालाई लिएर परिवारमा विवाद भएको थियो ।
चार जनाको हत्या गरेको आरोपमा परिवारकी कान्छी बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी पल्लवी घोषमाथि सासु, जेठाजु र भान्जीको हत्या गरेको आरोप छ । जबकि पल्लवीका श्रीमान भने फरार छन् । प्रहरीले घटनामा प्रयोग भएको छुरा बरामद गरेको छ ।
हावडा प्रहरीका अनुसार आरोपी पल्लवी आफ्नो श्रीमान् र आठ वर्षीय छोरासँग एमसी घोष क्षेत्रमा रहेको घरको पहिलो तल्लामा बस्दै आएकी थिइन् । जबकि पल्लवीका जेठाजु देवाशिष आफ्नी श्रीमती र छोरीसँग भुइँ तल्लामा बस्थे ।
बुधबार राति १०ः३० बजे अचानक राखी पूर्णिमाको पूजालाई लिएर परिवारका सदस्यहरुबीच झगडा सुरु भएको थियो । बिस्तारै विवाद बढ्दै गयो र भुइँ तल्लाको शौचालयको ट्याप खुला रहेको पल्लवीले देखेपछि स्थिति झनै बिग्रियो ।
यसबारे पल्लवीले आफ्नी सासू माधवीसँग गुनासो गर्दै यस्तो बेवास्ताका कारण आफ्नो परिवारले खानेपानीको अभाव भोग्नुपरेको बताइन् । पल्लवी चक्कु लिएर पुगेपछि विवादले उग्र रूप लियो ।
झगडा बढ्दै गएपछि पल्लवीले सासु माधवीलाई छुरा प्रहार गरिन् । देबाशिष, उनकी श्रीमती र १३ वर्षीया छोरी त्यहाँ पुगेपछि पल्लवीले उनीहरुमाथि पनि छुरी प्रहार गरिन् । घाँटी, काँध, छाती र हातमा गम्भीर चोट लागेका चारै जनाको मृत्यु भएको हो ।
प्रहरीको सोधपुछका क्रममा पल्लवीले परिवारका चार जनाको हत्या गरेको स्वीकार गरिन् । पल्लवीमाथि सासू माधवी (५८), जेठाजु देवाशिष (३६), जेठानी रेखा (३१) र १३ वर्षीया छोरीको हत्या गरेको आरोप छ ।




















