बेलबारी,१६ माघ । मोरङको बेलबारीमा नेपाल प्रहरीको प्रादेशिक अस्पताल संचालन गर्ने तयारी शुरु भएको छ ।
नेपाल प्रहरी अस्पतालका निर्देशक एआइजी डा.आशा सिंह सहितको प्रहरी अस्पतालको टिमले आईतबार बेलबारी नगरपालिकाका जनप्रतिनिधि सँगको भेटमा यस्तो जानकारी गराईएको हो । निर्देशक सिंहले सातवटै अस्पतालमा प्रादेशिक अस्पतालको अवधारणमा काम भइरहेको जानकारी गराउदै यस क्षेत्रमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठुलो रहेकोले प्रहरी अस्पताल संचालन गर्न लागिएको बताइन् ।
ईलाका प्रहरी कार्यलय रहेको पुरानो भवनमा निकट भविष्यमा ५० वेडको अस्पतालर ट्रमा सेन्टरको सुविधा सम्पन्न अस्पताल बनाउने योजना रहेको पनि निर्देशक सिंहले बताइन् । प्रहरी कल्याण महाशाखाका एसएसपी केदार ढकालले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने बताए । उक्त टिमले अस्पताल संचालन हुने स्थान इलाका प्रहरी कार्यालयको पुरानो भवनको निरीक्षण समेत गरेको थियो ।
भेटमा नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेकोमा प्रहरी अस्पतालको टिमलाई विशेष आभार व्यक्त गरे । संचालन हुने अस्पतालमा तत्कालका लागि भने ल्याप, एक्सरे तथा इमर्जेन्सी सेवा संचालन गरिने बताइएको छ ।
प्रहरी अस्पतालमा १५ जना जनशक्ति रहने बताइएको छ । उक्त छलफलमा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइराला, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, लेखा प्रमुख धनमाया राई, बेलबारी नगरपालिकाका १ का अध्यक्ष मणि मगर २ का अध्यक्ष कृष्ण गुरुङ ३ काअध्यक्ष योगेन्द्र सुवेदी ९ का अध्यक्ष शालिकराम बस्नेत र ११ नं वडाका अध्यक्ष बिक्रम बान्तावा राई लगायत सहभागी थिए ।




















