सुनसरी,५ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिकामा भान्जीलाई बलात्कार गरेको आरोपमा मामा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नातामा भान्जी पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा बराहक्षेत्र नगरपालिकाका एक किशोरलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिकाको वडा नं. १० घर भएका दर्नाल थरका १९ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

आरोपी दर्नालले गत माघ २३ गते राति ९ बजे ललाई फकाई आफ्नो घरमा लगेर करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए । बालिकाकी आमाले दर्नालविरुद्ध जाहेरी दिएसँगै उनलाई पक्राउ गरिएको हो ।

उनलाई माघ २६ गते सप्तरीको कञ्चनपुरबाट इलाका प्रहरी कार्यालय सप्तरीको सहयोगमा पक्राउ गरिएको दत्तले बताए । उनलाई माघ २६ गते पक्राउ गरेपनि प्रहरीले घटना पछि मात्रै सार्वजनिक गरेको हो ।

आरोपी दर्नाललाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।