पथरी,१० फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन पथरीशनिश्चरे नगर समिति मोरङले महत्त्वपूर्ण निर्णय गर्दै तेस्रो परिषद् बैठक सम्पन्न भएको छ ।मङ्गलवार पथरीमा बसेको बैठकले स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको छ ।
संगठनका १ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा मूलत: सामुदायिक विद्यालयमा स्थानीय (आन्तरिक) स्रोतबाट नियुक्त शिक्षकको पारिश्रमिकमा एकरूपता ल्याउनका लागि नगरपालिकासँग समन्वय गर्ने, नवप्रवेशी शिक्षकलाई सम्मानसहितको शुभकामना एवम् सेवानिवृत्त शिक्षकको बिदाइमा संगठनले सक्रियता बढाउनेजस्ता महत्त्वपूर्ण निर्णय गरेको छ ।
यसैगरी बालकक्षाका शिक्षक, साविक उमाविमा नियुक्त शिक्षक र प्राविधिक धारमा नियुक्त शिक्षकको पेसागत स्थायित्वका लागि पनि केन्द्र सरकारसम्म ध्यानाकर्षण गर्ने गरी यही नगरबाट ठोस कार्ययोजनासहित काम थाल्ने निर्णय भएको संगठनका नगरसचिव सुरेन्द्र दाहालले जानकारी दिए ।
संगठनका नगर समिति अध्यक्ष रोहिणीप्रसाद घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे नगर अध्यक्ष अर्जुनकुमार बुढाथोकी, संगठनका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य रविन भट्टराई, पथरी नगर शिक्षा, खेलकुद तथा युवा शाखा अधिकृत नवीन खुलाल, मोरङ जिल्ला कमिटी सदस्य एवम् पथरी नगर इन्चार्ज इन्दिरा गौतम नेपाल बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देल, सञ्चारकर्मी विवेक न्यौपाने लगायतले बोलेका थिए । बैठकले सर्वसम्मतरूपमा प्रगति प्रतिवेदनसमेत पारित गरेको थियो ।



















