अहिले ओलीपछि नेता प्रदीप ज्ञवाली नै सबै विषय, विधा, विश्लेषण र विज्ञता भएका एक इमानदार नेता हुनुहुन्छ तर भावी पार्टी अध्यक्ष सेवा निवृत्त पूर्वराष्ट्रपति विद्या भण्डारीबाहेक अरू विकल्प हाल देखिन्न । त्यसो हुँदा मात्र पार्टी भित्रका सबै खालका समस्या स्वतः तह लाग्छन् र लगाउन पनि सकिन्छ ।

317992737_5679943575387036_7178285571131194924_nनेकपा एमाले पार्टीले विगत फागुन ५ गतेदेखि ०८० वैशाख ९ गतेसम्म मिसन ग्रास रुटअन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन ग¥यो । यस अवसरमा यो लेखकलाई पनि इनरुवा नगर पार्टीमा एक प्रमुख अभियन्ता भएर र मोरङ जिल्लाका पथरी शनिश्चरे र सुन्दर हरैँचा नगरमा सहयोगीका रूपमा सामेल हुने मौका मिल्यो । त्यसैगरी इटहरी उपमहानगर पालिकामा सम्पन्न मिसन समीक्षा तथा मूल्यांकनमा जिल्ला नेता बालकृष्ण कार्की र उमेश पौडेलका तीतो सत्य र तथ्य परक प्रतिवेदन पनि सुनियो । त्यसैगरी कोसी प्रदेशको विस्तारित बैठकमा जिल्ला पार्टी अध्यक्षहरूले प्रस्तुत गरेका प्रतिवेदनहरू सुनियो ।

कोसी प्रदेशको विस्तारित बैठकमा मोरङ जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले भुइँ तहका पार्टी कार्यकर्ता र जनताका गुनासा, सुझाव, आलोचनामा आधारित भएर प्रस्तुति गर्नुभएको थियो । पार्टी, मोर्चा र संसदीय फाँटमा एउटै नेताले मात्र बारबार अवसर पाउने अरूहरू तिनकै पछिपछि लत्रिनु र लाग्नुपर्ने, पार्टीका औपचारिक फोरममा नेता कार्यकर्ताले आफूले देखेभोगेका पार्टीका समस्या राख्न नपाउने, पार्टी र अमुक प्रमुख नेताको सर्कुलर, निर्देशन र आदेशबिना सिन्को नभाँच्ने वा सिर्जनात्मक रूपमा काम पटक्क नगर्नेजस्ता केही गुनासाहरू रहेको सुनाउनु भयो । यसमा मञ्चासीन अमुक प्रमुख नेताले ऋषिकेश पोखरेललाई बोल्न नै नदिने खालको बोली र हाउभाउ देखाए । यसलाई अर्का प्रमुख अभियन्ताले समर्थनमा सही हाले । तिनले पोखरेललाई बोल्दा बोल्दै बीचमै रोक्न खोजे । अनि पोखरेलले यो मेरो व्यक्तिगत कुरा होइन भनेपछि ती नेता चुप लागेका थिए ।

केही जिल्ला अध्यक्षले भने आफ्ना जिल्लाका भएभरका भरमार कमजोरी पटक्कै उल्लेख नगरी आफूले जिल्लामा भस्मे फाँडेजस्तो लिपापोती प्रतिवेदन सुनाए । सुनसरीमा र अझ इटहरीमा अध्यक्ष र केन्द्रीय सदस्यका चरम र सरम गुटगत निकृष्ट क्रियाकलापबाट पार्टी जीवन धेरै लथालिंग र भताभुंग भएको अभियन्ताका प्रतिवेदनमै र नगर प्रतिवेदमा उल्लेख गरिएको छ । पार्टी सदस्यता रसिदको २५ वटा जति अर्धकट्टी कार्यकर्ताका हातमा छ तर जिल्लामा यसको अभिलेख छैन । इटहरीमा एक केन्द्रीय सदस्यले आफ्नै अनुकूलका जाली संगठित सदस्य बनाएका थिए । त्यस आधारमा पार्टीकै आधिकारिक वडाध्यक्षले हार बेहोर्नु प¥यो । सुनसरी जिल्लालाई केन्द्रले सोझो निर्देशन र मार्ग निर्देशन नगर्ने हो भने यो जिल्ला नै नराम्ररी थला पर्ने सम्भावना देखिन्छ । झलक्क हेर्दा माटो देखिए पनि क्षयरोगले थला पर्न आँटेको देखिन्छ । आँधी आउनुभन्दा अघिको शान्ति धेरै खतरनाक हुन्छ । पार्टीका आधिकारिक बैठकमा सुझाव र आलोचना गर्नै नदिने र त्यस खालका व्यक्ति र नेता कार्यक्रममा आउँछन् भन्ने थाहा भए कार्यक्रम, भेला र बैठक नै रद्द गर्ने जस्ता घटिया प्रवृत्ति व्याप्त देखिन्छ । यस्ता दृश्य र परिवेश देख्दा मिसन अत्यन्त महत्वपूर्ण र बहुआयामिक महत्वको हुँदाहुँदै पनि यस्तै चाला हो भने यसले अपेक्षित गुणात्मक लक्ष्य हासिल गर्नेमा आशंंका उत्पन्न भएको छ ।

मिसन ग्रास रुटका तमाम गतिविधि हेर्दा एमाले पार्टीमा कामको अवसरको खोजी गर्ने र मामकै मात्र अवसरको खोजी गर्ने चरम दक्षिमणपन्थी अवसरवादी खालका समूहहरू सबल संकेत स्पष्ट देखियो । एकथरि पार्टी अध्यक्षलगायत केही उपल्ला तहका नेतालाई अनेक किसिमले खुसी पार्ने र महत्वपूर्ण अवसरहरू मात्र हात पार्ने अत्यन्त गलत प्रवृत्तिका देखिन्छन् । तिनलाई दर्शन, पार्टी, सिद्धान्त,कार्यक्रम र कार्यदिशा आदिसित कुनै मतलव भएन र देखिएन । अर्काथरि नेताका अति प्रशंसा गर्नबाट बच्दै पार्टीहितलाई सर्वोपरि मानेर काममा केन्द्रित भएर लाग्ने प्रवृत्तिका पात्र र चरित्र देखिन थालेका छन् । पार्टी स्थायी समिति सदस्य गुरु बराल बहुआयामिक वैचारिक सिर्जनशील नेता हुनुहुन्छ । उहाँको बहुआयामिक प्रतिभा र क्षमतालाई एक क्षेत्रमा मात्र केन्द्रीकृत गर्न सकेको भए पार्टीको उपल्लो र अझ माथिल्लै नेतृत्व गुण विद्यमान छन् । एउटा नेता सबै खालका नसनाता गोता र आफन्तबाट बच्न सक्नुपर्छ । नाता र गोतातिर ध्यान दिँदा राणाहरूकै सर्वनाश भयो । क्षयरोगले कसैलाई माया गर्दैन ।

मोरङ जिल्ला अध्यक्षलगायत केही जिल्ला, केन्द्रीय सदस्यहरू मेनका काफ्ले, युवराज बाँस्कोटा, मीना पोखरेल उप्रेती, शकुन्तला बस्नेत, मञ्जू चौधरी आदि रहेका छन् । बाँस्कोटा त माकुने कालमा ज्यान नै जोखिममा पर्ने सकस र संकटमा परेर सक्रिय रहेका पूर्णकालीन नेता रहेछन् । व्यक्तिगत शुभ लाभमा मात्र हत्ते हाल्ने कतिपय उपल्ला तहका नेताहरू पार्टी अध्यक्षलाई खुसी पार्न सहयात्री कमरेडहरूका बारेमा नानाथरि झोसपोल लगाउँदा रहेछन् । सतही पोलमा विश्वास गरियो भने इमानदारहरू निराश हुन्छन् र पार्टी विकृत व्यक्तिहरूको अखडा बन्न सक्छ ।

केही समयअघि एमाले अध्यक्ष ओलीले पार्टी नेता र कार्यकर्तालाई सम्बोधन गर्दै हामी कति भलाद्मी भन्दै कटाक्ष गर्नुभएको थियो । उहाँले एमाले पार्टी, यसका अध्यक्ष ओली प्रधानमन्त्रीत्वको सरकारले गरेका कामहरू र नेतृत्वप्रति इतर पक्षहरूले अनेक झुटफरेबी कुरा विचार समाचार र लेख लेखिरहँदा पनि हामी चुपचाप हुन्छौँ यो के काइदा हो भन्नुभएको थियो । उहाँले सही कामको प्रचार प्रसारका अनेक रूप, विधि प्रक्रिया र अवयवहरू सिर्जनात्मक रूपमा सक्रिय हुनुपर्ने बताउँदै यसमा सिंगो पार्टी सचेत र संगठित हुनुपर्ने बताउनुभएको थियो । तर, एमाले पार्टीमा प्रचार प्रसार सूचना र सञ्चार शून्य जस्तै देखियो । देशघाती र जनघाती कामहरूलाई कविता, साहित्य र संगीतका माध्यमबाट आम जनमानसलाई जुरुक्क उठाउने तथा जुटाउने खालको सिर्जना र वाचन गर्नु पनि प्रचारको कलात्मक बान्की हो । तर प्रायः गोष्ठीमा जनताको मुटु र मस्तिष्क छुने रचना वाचन गरिँदैनन् ।

जनताले तत्काल बेहोर्नु परेका समस्याहरूमा आधारित सिर्जना गर्नुपर्छ भनेर गोष्ठीमा सुझावमूलक टिप्पणी गरिदिने नेतृत्वको अभाव छ । जनताले भोगेका ज्वलन्त विषयमा रचना नगरी हिमालको वर्णनमा आधारित पुरातनी सिर्जनाले मात्र हुँदैन । एकाध अनलाइन पत्रिकासमेत अमुक नेताका समाचारबाहेक पार्टी र मोर्चा संगठन र अझ कला साहित्यिक तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी प्रदेश स्तरका समाचार प्रकाशित गर्दा रहेनछन् । अर्धनग्न नारीको, बेडसिन र राशिफलजस्ता अनेक नौटंकी समाचार प्रवाह गरेको देखेर सरम लाग्छ । यही विषयमा यस लेखकले एमाले हुँ भन्ने मिडिया सञ्चालक तथा पत्रकारसित सुझावमूलक संवाद गर्दा उनी एउटा वरिष्ठ लेखक तथा बुद्धिजीवीसित अराजक ढंगले प्रस्तुत हुँदा तीन छक्क परियो । बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्तैन । गोयवल्स शैलीको दुष्प्रचारले असत्य पनि सत्य झैँ लाग्छ र आमजनता सही सूचनाका अभावमा अन्यौलमा पर्छ ।

एमालेले गरेका पार्टी र सरकारसित सम्बन्धित कामहरू पूरै ओझेल परेका छन् । हजारौँ सेनाले गर्न नसकेको काम एउटा अखबारले गर्छ भन्ने पढेका तर त्यसलाई पटक्क नुबझ्ने मिडियाकर्मीका कारण सूचना र सञ्चार सबल बन्न नसकेको हो, यो कुरा प्रचार विभाग सहसंयोजक विष्णु रिजालसामु राखिएको छ । यस खालको दरिद्र सोचका कारण एमालेकै धेरैजसो जिल्ला र केन्द्रका पनि कतिपय नेता चरम भ्रमित समाचारको सिकार बनेको टीठलाग्दो दृश्य देखिन्छ । यसैले मिसन ग्रास रुटमा हामी आफैँ सञ्चार प्रचार र अखबार बन्नुपर्छ, हाम्रा राम्रा कामको प्रचार मिलाएर हामी आफैँले गर्नुपर्छ भनेर जोड दिइएको छ ।

जननेता मदन भण्डारीले आफ्नै सहोदर कान्छा भाइ डा.कैलाश भण्डारीलाई भनसुनका आधारमा विदेशमा छात्रवृत्ति दिलाउने कुराको चर्को विरोध गर्नुभएको थियो । तर अहिले आआफ्ना नाता, दिदीबहिनी, आफन्त, पति पत्नी तथा तथा गोत्रियारीलाई सके र भ्याएसम्म कुनै पनि अवसर दिने गरेका दृश्य देखिए र भोगिए । तर इमानदार नेता र कार्यकर्ता नभएका पनि होइनन् । कम्तीमा ओली पार्टी अध्यक्ष भएपछि पार्टीलाई सर्वोपरि राखेर काम गर्नेहरू सतहमा देखा पर्न थालेका छन् ।

इमानदार मान्छेले त्यति ठाउँ बनाउँदैन जति ठाउँ झुठा र धोकेवाजले बनाउँछ भनेझँै एमाले पार्टीमा फेरि पनि लोभीपापीहरू एक ढिक्का हुन सक्छन् । इटहरी उपमहानगर पालिकाको स्थानीय निर्वाचनमा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यले पार्टीका नगरप्रमुखका उम्मेद्वारलाई हराउन खेलेको भूमिका नगर कमिटीको लिखित प्रतिवेदनमा उल्लेख छ । पार्टी र नेताका चरम विसंगतिका विरुद्ध परोक्ष रूपमा लेखका माध्यमबाट उजागर गर्ने यही लेखकलाई गौतम थरि केन्द्रीय सदस्यले जे पनि हुनसक्ने धम्की दिएकी थिइन् । यो कुरा इटहरी नगर समिति सदस्य प्रशान्त पोखरेलबाट अवगत भयो । यति मात्र होइन पोलिटब्युरो सदस्य शेरधन राईले निर्वाचनमा अन्तर्घात गर्नेलाई कार्यबाही सिफारिस गर्ने उपसमितिका संयोजकबाट राजीनामा दिनुभयो । किनभने कार्यवाही गर्ने नै हो भने पार्टीका केन्द्रीय, पोलिटब्युरो, प्रदेश तथा जिल्ला सदस्यहरूकै संख्या भारी हुने देखियो । माकुने प्रवृत्ति सुनसरीलगायत धेरै जिल्लामा व्याप्त देखिन्छ ।

इमानदारभन्दा बेइमानकै संख्या धेरै हुँदा बहुमतकै बल भारी हुनसक्ने देखियो । यसमा पार्टीले बहुतै होसपूर्वक कदम चाल्नुपर्छ । निरन्तर १५ वर्ष पार्टी सत्ता सञ्चालन गरेको माकुने दक्षिण पन्थी चरम विसर्जनवादी प्रवृत्ति पार्टीमा अझै घर गरिरहेको छ । माक्र्स र माओले भनेझैँ विगत शाषक र शासन पद्धति (माकुने कालको कुप्रवृत्ति) को सांस्कृतिक तथा वैचारिक कुप्रभाव परिवर्तित पछिल्लो अवधिमा पनि बाँकी रहन्छ । यसको असर नेतामा नै मसिनो गरी रहन्छ । त्यसैले सामन्तवाद वा राजतन्त्रको उन्मूलन गरे पनि सदियौँ देखिको मन मस्तिष्कमा कटकटिएर जमेर रहेको सामन्तवादी अपसंस्कृति कतिपय नेतामा नै व्याप्त रहेको हो ।

अहिले ओलीपछि नेता प्रदीप ज्ञवाली नै सबै विषय, विधा, विश्लेषण र विज्ञता भएका एक इमानदार नेता हुनुहुन्छ तर भावी पार्टी अध्यक्ष सेवा निवृत्त पूर्वराष्ट्रपति विद्या भण्डारीबाहेक अरू विकल्प हाल देखिन्न । त्यसो हुँदा मात्र पार्टी भित्रका सबै खालका समस्या स्वतः तह लाग्छ्न् र लगाउन पनि सकिन्छ । मिसन ग्रास रुटचाहिँ यो लेखक आफैँले पनि सोचेअनुसार कायापलट हुने गरी गर्ने अनुकूल परिस्थिति प्राप्त गर्न सकेन । अभियानमा जाँदा र हेर्दा पातलै भए पनि जनमत एमालेमै रहेको देखियो तर जिल्लाको पार्टी नेतृत्व चुस्त, दुरुस्त, इमानदार र प्रभावकारी बनाउन सकियो भने एमाले पार्टी भुइँ तहदेखि सबल र शक्तिशाली बन्नसक्ने पर्याप्त आधार छन् ।