•  ✍️ आचार्य अमृत 

हिजो दिनभरि मैले रोशन दाहाललिखित  'महाभारतका पात्रहरू' भन्ने पुस्तक पढेँ । ४२७ पृष्ठको उक्त पुस्तकको ३२० पृष्ठमा  'मृत्यु हुँदा उनको उमेर चार सय वर्षको थियो ' भनेर लेखिएको रहेछ । यो उमेर अरू कसैको नभएर आचार्य द्रोणको रहेछ । आजभन्दा अगाडिसम्म मैले पौराणिक कालका पात्रहरूको उमेर यसरी किटानीसाथ लेखिएको कतै पनि देखेको रहेनछु, त्यसैले द्रोणाचार्यको उमेर त्यसरी किटेर लेखेको देख्ता केही अचम्म पनि लाग्यो । 

मिति हेरेँ, सन् २१२३ को मे  महिनाको २५ तारिख रहेछ । त्यो मिति देख्नासाथ म आत्तिएँछु, आज म कसरी यहाँ ? फेरि तुरुन्त द्रोणाचार्यको मृत्यु हुँदाको उमेर सम्झन पुगेँछु र यो सय वर्षपछिको दिनले पनि मलाई कुनै प्रभाव पारेनछ भन्नुपर्‍यो ।

१००% नेपालीहरू नै उच्च शिक्षित ( स्नातक/ स्नातकोत्तर/ विद्यावारिधि उपाधि प्राप्त, १० विषयसम्ममा विद्यावारिधि गर्नेहरू पनि भएका ), कसैले कसैको ईर्ष्या र द्वेष गर्ने भन्ने कुरो सपनामा पनि सोच्नु नपर्ने, सबैले ८ घण्टा काम गर्ने, ८ घण्टा आराम गर्ने र ८ घण्टा मनोरञ्जन गर्ने, सड्ने फोहोरबाट मल उत्पादन गरिएको, नसड्ने वस्तुहरू पनि अधिकतम मात्रामा  रिसाइक्लिङ गरेर प्रयोगमा ल्याउने गरिएको, सर्वत्र अति सफा वातावरण, फोस्रा र खोक्रा भाषण गरेर कसैले कसैलाई कुनै कुरामा पनि कन्भिन्स गरिरहनु नपर्ने भएकाले आजको १०० वर्षअगाडिको जस्तो भाषणले वाक्क नपार्ने, कागजका अखबार र पुस्तकहरू सङ्ग्रहालयमा मात्र देख्न पाइने, सम्पूर्ण जीवनपद्धति नै डिजिटलाइज्ड भएको, सरकार चलाउनेहरूदेखि लिएर सबै सेवा प्रदायक क्षेत्रमा विशेषज्ञ नै हुने भएकाले सबै सेवाहरू पूर्णत: भरपर्दा, चोरी/डकैती/घुसखोरी/भ्रष्टाचार/षड्‌यन्त्र/छलकपट/हत्या/ हिंसा/ तथा यौनजन्य महापराधहरू हुने कुनै सम्भावना नभएको, यति हुँदाहुँदै पनि सीसी क्यामेरबाट सबै अवाञ्छित  क्रियाकलापको पूर्ण निगरानी रहने गरेको, बालबालिकालाई शिक्षा दिने अति सरल र प्रभावकारी पद्धतिको विकास गरिएको, कार्यालयहरूमा अनावश्यक जनशक्ति थुपार्ने कुराको अन्त्य गरिएको, जलविद्युत्‌काे अधिकतम प्रयोग गरिने भएकाले सबै काम छिटो छरितो हुने र मानव स्वास्थ्यमा राम्रो प्रभाव रहने गरेको, नियमित रूपमा राजस्व उठ्ने र त्यसलाई अधिकतम रूपमा जनताको हितमा खर्च गर्ने गरिएको, बालमृत्यु दर र मातृमृत्यु दर नगण्य मात्रामा हुने गरेको, वनजङ्‌गल र जीवजन्तुको पूर्ण संरक्षण गरिएकाले स्वच्छ वातावरण उपल्लो स्तरमा रहेको, मानिसहरूको औसत आयु नै १०० वर्षको भएकाले उनीहरूको स्वास्थ्य अवस्था अत्यन्त लोभलाग्दो रहेको ( स्वच्छ  खाद्यवस्तुको  उत्पादन र वितरण हुने गरेकाले त्यस्तो खानेकुराको सेवन गर्न पाएका कारण  १०० वर्षको मानिस उसरी नै काम गर्न सक्छ जति २०/२५ वर्षको मानिसले गर्छ ), कोही ठूले स्वरले बोल्दैन, कसैले कसैलाई हप्काउँदैन, सम्बन्धविच्छेद अति नगण्य रूपमा मात्रै हुन्छ, त्यो पनि हाँसी हाँसी, अस्पतालहरूले त्यस्तो उपचार गरिरहनु नै नपर्ने खालि परामर्श दिए पुग्ने भएको, भाषाप्रयोगमा कोही कसैबाट अलिकति पनि त्रुटि नहुने चाहे बोल्दा होस्, चाहे लेख्ता  । सभ्यता, शिष्टता, इमानदारी, ऊर्ध्वगामिता र उच्च मानवीय मूल्यले युक्त मानव समाज, जुनसुकै कुराको पनि सदुपयोग गर्नुपर्छ भन्ने उदात्त चिन्तनको पूर्ण विकास ............. ।

चन्द्रमामा  १०% जति मानिसहरूको बसोबास भइसकेको र मङ्‌गलमा पनि मानव बसोबासका लागि प्रयास हुन थालेको , अधिकांश दम्पतीले एउटा मात्र सन्तान जन्माउने र कतिपयले जन्माउँदै नजन्माउने कारणले गर्दा पृथ्वीको जनसङ्ख्या उल्लेखनीय रूपमा घटेको जसले गर्दा पृथ्वी प्रदूषणमुक्त हुन पुगेको ..।

" यस्ता दिन पनि आउन सक्ता रहेछन् नि त पर्खिन  सक्ता " -  हठात् यो बोल्न पुगेँछु म जुन निद्रा खुल्ने कारण बनेछ ।