विराटचोक,२९ जेठ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।


काठमाडौंका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तस्बीर सार्वजनिक गरेसँगै यो विषयले अहिले देशभर चर्चा पाएको छ । अधिकांशले बालेनको कदमलाई समर्थन जनाएका छन् ।
बालेनको कदमलाई समर्थन गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिसकेका छन् ।

भारतले नयाँ संसद् भवन उद्घाटन गरेपछि जारी गरेको नयाँ नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुसहित ठाउँ समावेश छन् । भारतको उक्त कदमपछि बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षको भित्तामा लगाएका हुन् । त्यसैलाई निरन्तरता दिँदै केराबारीका अध्यक्षले आइतबार कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने आफ्नो योजना धेरै अघिको भएपनि समयमै छपाइ नहुँदा ढिला भएको उनले बताए । ‘यो मेरो निकै अगाडिको योजना थियो । छापाखानाले समयमै नछाप्दा ढिलो भएको हो,’ उनले भने, ‘तर, अहिले काठमाडौँका मेयरले राखेको देखेर राख्यो भन्ने कुरा पनि उठिरहेको छ । त्यसलाई म नराम्रो भन्दिँन किनकी देशका ठूला पालिकाका मेयरले गरेको काम कपी गर्दा नराम्रो भइँदैन् ।’ उनले राष्ट्रियताको सवालमा आफू कहिल्यै पछि नहट्ने बताए ।
अध्यक्ष मिरिङचिङको उक्त कामको प्रशंशा गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री लालबाबु पण्डितले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनको तस्विर समेत सेयर गरेका छन् । सामाजिक सञ्जालमा यतिखेर उनको व्यापक चर्चा र प्रशंशा भैरहेको छ । केहींदिन अघि उनको नेतृत्वमा मदन भण्डारी राजमार्गको नव निर्मित खदम पुलमा पनि राष्ट्रीय झण्डा राखिएको थियो ।
एमाले युवा नेता राजेन्द्र कार्कीले भने एमालेका जनप्रतिनिधिले यस्तो लोकप्रिय कार्य गर्दा पनि फ्रन्टलाईनका मिडियाले महत्व नदिएकोमा सामाजिक सञ्जाल मार्फत रोष प्रकट गरेका छन ।