काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादको मुद्दामा सोमबार सुनुवाइ हुने भएको छ ।

आइतबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दै सूचीमा आजको लागि राखिएको हो ।

लोकसेवा आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु भएको हो ।यसअघि न्यायाधीशद्वयको इजलासले असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरिएका हुन् । मुद्दाको टुंगो नलागेपनि अन्यौलताका बीच झण्डै चार लाखले आवेदन फाराम भरेका छन् ।