- डा .शेरबहादुर पुन
सर्पदंशमा यी संकेतहरु देखिए घातक हुनसक्छ
नेपालमा गरिएका अध्ययन अनुसार ८९ प्रजातिका सर्पहरु रहेको र त्यसमा १७ प्रजातिका सर्पहरु बिषालु रहेको अनुमान गरिएको छ। अर्थात् झन्डै ८० प्रतिशत सर्पहरु विषालु छैनन्। विश्व स्वास्थ संगठनको अनुसार वर्षेनी नेपालमा सर्पको टोकाइबाट बीस हजार जना पीडित हुने र त्यस मध्ये एक हजार जनाको मृत्यु हुने गरेको अनुमान छ।
नेपालमा विशेषत तराई भेगमा सर्पको टोकाइबाट बढी मर्ने गरेको तथ्यांक छ।सो ठाउमा बिशेषत कोब्रा, करेत जस्ता अत्यन्त विषालु सर्पहरु पाइने गर्दछ। कतिपयले सम्भवत धेरैले विषालु सर्पले नै टोकेको हो वा होइन भनेर ठम्याउन पनि सक्दैनन्। तसर्थ सर्पले टोकेको बिरामीमा निम्न लक्षण वा संकेतहरु देखिए कोब्रा वा करेत जस्ता अत्यन्त विषालु सर्पले टोकेको भनेर बुझ्नु पर्दछ। त्यस्ता बिरामीलाई जति सक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा अस्पतालमा पुर्याउनु पर्दछ।
- विषालु सर्पले टोकेमा देखिने केही घातक लक्षण वा संकेतहरु
१.आँखाको ढकनी पुरा खोल्न असमर्थ हुनु।
२.मुख पुरा खोल्न असमर्थ हुनु।
३.दृष्टि धमिलो वा वस्तुलाई दुई वटा डबल भिजन देख्नु।
४.जिब्रो बाहिर निकाल्न र केही निल्न पनि नसक्नु
५. मांशपेशी शिथिल हुनु।
प्राथमिक उपचारका उपायहरु भएता पनि नजिकै रहेका व्यक्तिलाई ती उपायहरुको पूर्ण जानकारी नहुँदा वा अरु कसैलाई सोध्नु परेमा० वा जानकारी भएता पनि व्यवहारिक रुपमा जति सक्दो चाँडो कार्यान्वयन गर्न नसक्दा तत्काल आवश्यक सामग्री नहुँदा बिरामीलाई अस्पताल पुर्याउन ढिलो हुने र बिरामीमा जटिलता उत्पन्न भइ मृत्यु हुने सम्भावना बढी हुनसक्दछ।
अझ कोब्राले टोकेमा छिटो भनेको ३० मिनेट भित्रमा बिरामीमा श्वासप्रश्वास अबरुद्ध फेलर हुन गइ मृत्यु समेत हुनसक्दछ।समुदायमा आधारित भएर गरिएको एक अनुसन्धानले ८० % असी प्रतिशत बिरामीको मृत्यु समयमा सर्पदंश उपचार केन्द्र वा अस्पताल पुग्न वा पुर्यान नसक्दा भएको देखाएको थियो। तसर्थ ढिला नगरी सर्पदंश उपचार केन्द्रमा बिरामीलाई पुर्याउन सके मृत्युदर लाई धेरै हदसम्म कम गर्न सकिने छ। तर यसको लागि सर्पदंशको उच्च जोखिम रहेका ठाउँका स्थानीयहरुले भने सर्पदंश उपचार केन्द्र कहाँ छ भनेर थाहा पाउन अति आवश्यक छ।
डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।श्रोत : स्वास्थ्य खवरपत्रिका




















