- भूमिप्रसाद पाठक
पथरी,१९ साउन । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको पथरी शनिश्चरे नगरपालिका कार्यसमितिको अध्यक्षमा श्री पञ्चायत मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार पञ्चायत माविमा भएको पालिका भित्रका क्रियाशील २८ वटा सामुदायिक विद्यालय व्यवस्थापन समितिको भेलाले अध्यक्ष र एकजना अनिवार्य महिला सदस्य सहित बास्कोटाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।
कार्यसमितिको निर्माणमा पर्शुराम कार्की, गोमा दाहाल निरौला, प्रकाशबहादुर कार्की, प्रदीपकुमार राई र काशीहाङ राईले सहजीकरण गर्नु भएको थियो । वडाध्यक्ष भीमकुमार राई, प्रधानाचार्य अर्जुनकुमार बुढाथोकी र शिक्षक निरज ढकाल रहनु भएको निर्वाचनमण्डलले घोषणा गरेको कार्यसमितिका सबैलाई सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको कोशी प्रदेश अध्यक्ष सागर खत्रीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
हामी सुधार्छौं हाम्रो विद्यालय मूलमर्मका साथ भएको भेलाका प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्बापोले पानसमा सजिएको दीप–प्रज्जवल सहित कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुम्बापोले सामुदायिक विद्यालयले समाजमा मुनाफारहित ढंगले अँध्यारोविरुद्ध अनवरत उज्यालो छर्ने कामको गर्दै आएको कुरा बताउनु भयो ।
सामुदायिक विद्यालय अर्थात् समुदायको सम्पत्ति, समाजको सम्पदा हो । कुनै बेला आफ्ना छोराछोरीलाई घरपायक पठनपाठनका लागि समुदायको जोडबलमा निर्मित विद्यालयलाई यो समुदायले चाहेमा उद्देश्यअनुरुप जगेर्ना गर्न सक्छ । राज्यको ठूलो लगानी रहेको क्षेत्र पछिल्लो समयमा प्रतिफलविहिन बनेको छ ।
यसतर्फ समुदायमा पूनर्जागरण ल्याउन आवश्यक छ । विभिन्न खालका मानक उत्तीर्ण शिक्षक वर्गको उपस्थितिले अपेक्षाकृत राम्रो शिक्षा आर्जनको थलो बन्न सक्छ ।
समाजमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीचको विभेदजन्य दुरीलाई घटाउन सकिन्छ । यसनिम्ति समुदायको अग्रसरता जरुरी छ । आज सम्पन्न कार्यक्रमले एकस्वरमा जोड दिएको छ ।
भेलाले ६ बुँदे संकल्प प्रस्तावित प्रस्ताव पारित गरेको छ ।
१.शिक्षा सबैका लागि उसको नैसर्गिक हक अधिकार हो । यसलाई हृदयागंम गर्दै सामुदायिक विद्यालय व्यवस्थापन र शैक्षिक सुधारको अभियानमा सरोकारवाला सबै पक्ष र सिङ्गो समुदायलाई परिचालन गरेमात्र विद्यालय प्रशासन, हाम्रा बालबालिका र समुदायबीच सामिप्यता बढ्ने विषयलाई आत्मसात गर्दै त्यसतर्फ पूर्णतः क्रियाशील रहने छौँ ।
२.विद्यालय सर्वस्वीकार्य मर्यादित क्षेत्र हो । नियमनकारी निकायद्वारा जारी नियमनका विषयहरू अनिवार्य पालन गर्दै यसको गरिमालाई सधैँभरि उँचो राख्न सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण सहित अनुरोध गर्दछौँ ।
३.शिक्षा सिकाइको गुणस्तर कायम गर्न विकास विधि पनि परिस्कृत हुन जरुरी छ । यसलाई समेत ध्यानमा राख्दै दैनन्दिन विद्यालय प्रशासन र शिक्षण सम्बद्ध शक्तिमाझ आवधिक र नियमितरूपमा अन्तरक्रियात्मक कार्यक्रममार्फत अघि बढ्न चाहन्छौँ ।
४.हाम्रा कुनै पनि विद्यालय हाता वा यसको परिसरमा विभिन्न नाउँ, निहुँ र शीर्षकमा हुने जुन कुनै खाले विभेदजन्य व्यवहारविरुद्ध समाजको सबै पक्ष सहकार्यका लागि जिम्मेवार हुन/बन्न हार्दिक अनुरोध गर्दछौँ ।
५.चालू शैक्षिकसत्रका लागि क्यालेण्डर बनेसँगै यो क्रमशः कार्यान्वयनमा आएको छ । हामी कार्यान्वयनमा आएको यो क्यालेण्डरअनुसार सुक्ष्म विषयगत पठनपाठनको अनिवार्यतालाई ख्याल गर्नेछौँ । क्यालेण्डर निर्देशित नियमित पठनपाठनका अतिरिक्त विद्यार्थीको सर्वांगिण विकासमुखी क्रियाकलापको अनिवार्यतालाई औंल्याउँदै यहाँ जारी भएको पाठ्यक्रमका आधारमा स्थानीय पाठ्यपुस्तक अविलम्ब निर्माण गर्न स्थानीय पालिकासमक्ष माग गर्दछौँ ।
६.सबैको पहुँचमा आधारित शिक्षाका लागि सामुदायिक विद्यालय व्यवस्थापन सुधारको अभियानमा हामी सम्बद्ध सबै खाले सरोकारवाला व्यक्ति/शक्तिलाई जोडिन आह्वान गर्दछौँ ।
उक्त कार्यक्रममा मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंक गौतम, नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले,श्री पञ्चायत माविका प्रधानाचार्य अर्जुनकुमार बुढाथोकी,पञ्चायत मावि विव्यस अध्यक्ष युवराज बास्कोटा, भागिरथ मावि विव्यस अध्यक्ष पर्शुराम कार्की, वडाध्यक्षद्वय भीमकुमार राई र नवीनजंग कार्की, सुनाखरी मावि विव्यस प्रदीपकुमार राईले कार्यक्रम भव्य र सम्भ सफलताको शुभेच्छा–सम्बोधन गर्नुभएको थियो । वडाध्यक्ष भीमकुमार राईले सगर्व बधाई ज्ञापन गर्नुभएको थियो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको कोशी प्रदेश अध्यक्ष सागर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष उर्मिला सुवेदीले शुभेच्छा सम्बोधनमार्फत स्वागत अभिनन्दन गर्नुभएको थियो भने सचिव हरिबहादुर कार्कीले सञ्चालन गर्नु भएको थियो ।




















