काठमाडौं,१४ भदौ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताएका छन।
बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताए।
पूर्वमन्त्री पाण्डेले नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गरे। उनले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताए ।
पूर्वमन्त्री पाण्डेले सरकारलाई आन्तरिक ऋण चुनौति र महँगो दुबै भइरहेको बताए । उनले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौति र जटिलता रहेको बताए। उनले सरकारले चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताए ।
पूर्वमन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताए ।उनले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताए।
पूर्वमन्त्री पाण्डेले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गरे। उनले बल,वृद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने बताए ।
पूर्वमन्त्री पाण्डेले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए।उनले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताए ।उनले अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको बताए।




















