विराटचोक,१७ भदौ । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा "शैक्षिक नेतृत्व विकास र पेसागत सशक्तीकरण" विषयमा एकदिवशीय तालिम कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सुन्दरहरैँचा नगरपालिका भित्रका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापक वा शैक्षिक कार्यक्रम हेर्ने संयोजक तथा क्याम्पसमा कार्यरत क्याम्पस प्रमुख‚ सहायक क्याम्पस प्रमुख‚ कार्यक्रम संयोजक‚ कार्यक्रम निर्देशक‚ विभागीय प्रमुख‚ शिक्षक र कर्मचारीहरूका लागि तालिमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा रत्नराज्य क्याम्पस काठमाडौंका सहप्राध्यापक एवम् नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्गठन (NELTA) का केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान र सो सङ्गठनका निवर्तमान केन्द्रीय अध्यक्ष हेमन्तराज दाहालले सो विषयमा विषयविज्ञका रुपमा तालिमको सहजिकरण गरेका थिए ।
कार्यक्रमको अन्तमा शैक्षिक नेतृत्व र पेसागत सशक्तीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले सहभागीहरूलाई स्वागत गर्दै तालिम कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए । उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गरेका थिए ।




















