विराटचोक,१७ भदौ। मोरङको सुन्दरहरैँचा १२ स्थित सुन्दर खाेर्साने युवा क्लबकाे आयाेजनामा तेस्रो रमाइलो मिनि मेला सञ्चालन हुने भएको छ । सयपत्री इन्टरटेन्मेन्टको व्यवस्थापनमा यहि भदौ २५ गते देखि असाेज १३ गते सम्म मेला आयाेजना गर्ने तयारी गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
मेलामा साँस्कृतिक एवम् मनाेरञ्नात्मक कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर नगर भित्रका उत्कृष्ट पर्यटन स्थलकाे प्रवद्वन गरि कला, संस्कृति र मनाेरञ्जनका माध्यमबाट आम मानिसलाई एकताकाे शुत्रमा बाँध्ने मुख्य उदेश्य रहेको महाेत्सव आयाेजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूले बताए । उनले मेलामा ३१ लाख १५ हजार खर्च हुने साथै आम्दानी भएको रकमले समाजिक रूपमा कार्य गर्दै आएकाे क्लबकाे हितमा खर्च गरिने जानकारी दिए ।
रमाइलो मिनि मेलामा स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले समेत आफ्नो प्रस्तुति राख्ने तथा कलाकारकाे व्यवस्थापन र महाेत्सवका लागि विविध कार्य अगाडि बढेको मेलाका स्टेज संयाेजक आनन्द वस्नेतले जानकारी दिए ।
मेलामा कलाकार मेलिना राई , प्रमाेद खरेल,रचना रिमाल , ज्याेती मगर, प्रिती आले , अशाेक दर्जी तथा विल्सन बिक्रम राई ( तक्मे बुढाे) लगायतकाे प्रस्तुति रहने आयाेजकले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ।
मेलामा राेटेपिङ्ग , नाउ करेस , फिरफिरे रेस ,ड्रागन रेस तथा बालबालिकाकाे लागि खेल समाग्री समावेस गरिने आयाेजकले बताएको छ । मेलामा भेज हाेटल तथा नन भेज हाेटल समावेश हुने साथै मेला बेलुकी ५ बजे देखि रातीको ९ बजेसम्म सञ्चालन हुने आयोजक क्लबका सचिव मिलन तामाङले उल्लेख गरे ।
सुन्दर खाेर्साने युवा क्लब नेपाल सरकारकाे ऐन अनुसार दर्ता भएको सामाजिक संस्था भएकाेले याे कला , संस्कृति , खेलकुद एंवम् जनचेतनामूलक विविध कार्यहरूकाे संचालनका लागि स्थापना भएकोले क्लबकाे हित र विकासका लागी सकेको साथ सहयाेग गर्ने सुन्दरहरैँचा नगरपालिकाका प्रबक्ता राेशनप्रसाद ढकालले बताए ।




















