सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिए।

आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले सुनाए। प्रतिव्यक्ति खर्चयोग्य आय भने १ लाख ५५ हजार रुपैयाँ पुग्ने अनुमान रहेको अर्थमन्त्री डा. खतिवडाको भनाइ थियो।

उनका अनुसार फागुनसम्मको औसत मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ भने प्रतिव्यक्ति आम्दानी बढेको छ।

कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिले बचत क्षमतामा समेत वृद्धि भएको छ। ‘पहिलोप टक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतको बिन्दू नाघेको छ। यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान दिनेछ', उनले भने। यसका कारण उच्च आर्थिक वृद्धिको लागि मार्गप्रशस्त हुँदै गएको उनको दाबी थियो।

उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत लगानीका सामग्रीको आयात बढेको, उच्च व्यापारघाटा कायमै रहेका कारण शोधनान्तर र विदेशी विनिमय सञ्चितिमा चाप परेको अर्थमन्त्रीको भनाइ छ।

उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा भएको वृद्धिको कारण गरिबी क्रमिक रुपमा घट्दै गएको उनले दाबी गरे। निरपेक्षा गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशतमा झरेको अनुमान रहेको अर्थमन्त्रीले बताए।