विराटचोक,३ पुस । मोरङको पथरीशनिश्चरे—१० जिरिखिम्तीमा छुवाछुतको बिषयलाई लिएर दलित समुदाय माथि बहिस्कार हुन थालेपछि सो विरुद्ध लड्न संघर्ष समिति गठन भएको छ । करिब सात महिना (२०८० जेठ ६ देखि १३ गतेसम्म) अघि छिमेकी शान्ति सुवेदीको घरमा पुराण लगाएका थिए । 

पुराणमा पूजा सामाग्री बोकेर गएकी रिता दियाली (बिक) शान्ति सुवेदीको घरमा गएका थिए । रितालाई शान्ति सुवेदीले मण्डपमा नपुगी रोकेर सामान मागिन । किन भन्दाभन्दै हातैबाट खोसेर लगेर हतार हतार मण्डपमा सो सामाग्रीले पूजा गरेर थाल ल्याइदिए । पूजा गर्ने पण्डितले पनि हेरिरहे । केही भनेनन् । किन यसो गर्नु भएको, म पूजा गर्न आएको भन्दा शान्ति सुवेदीले सबैलाई यसै गर्छौ भन्ने जवाफ दिएको रिताको भनाइ छ । 

मेरा अरु साथिहरुलाई त दिनुभयो त ? भनेर प्रश्न गर्दा उनीहरु क्षेत्री, बाहुन प¥यो तँ कामी परिस्। दलित सबैलाई यसै गर्छौ भनेको जवाफ आएको रिताले बताइन । पुराणमा वितरण हुने रामराम लेखिएको खादा पनि शान्ति सुवेदीले परैबाट (फालेजस्तो गरेर) ओढाइ दिएपछि झिकेर त्यही बारमा छाडेर फर्केका रिताले बताइन्।

रिता भन्छिन् ‘सारा मानिसहरुको अगाडी तँ कामी (दलित) भएकोले यसो गरेको भनेर विभेद भएको बुझेपछि मन मानेन, चित्त बुझेन ।’

घरमा आएर पति मान दियाली, छिमेकी जगत तिवारी लगायतसँग सल्लाह माग्दा न्याय माग्न जाने सल्लाह पाएको रिताले बताए । त्यसपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए रिताले  । रिता भन्छिन् म पढे, लेखेको र समाज बुँझेकी महिला हुँ । भन्छिन् ‘विभेद सहनुहुन्न भन्ने लाग्यो, समुदायका अन्य मानिस सहेर बसेपनि मैले सहन सकिन र उजुरी दिए ।’

उजुरी दिएपछि मिल्न दबाव आउनथाल्यो । चौतर्फी दबाव आएपछि शान्ति र रिता दियालीसँग मौखिक मेलमिलापको सहमति भयो । मेलमिलाप भएपछि कडा रुपमा मुद्धामा अघि बढ्न सकिनन् रिताले । मुद्धा प्रकृयामा अघि बढिसकेको कारण जिल्ला अदालत मोरङले १५ हजार धरौटीमा शान्ति सुवेदीलाई छाडे । हालसम्म मुद्धा चलिरहेको छ । अन्तिम फैसला आउन बाँकी छ । 

यही घट्नाको बिषयलाई लिएर जिरिखिम्तीमा रहेका २५ घर दलित समुदायलाई गैर दलित समुदायले पुराण, बिहे लगायतका धार्मिक, सांस्कृतिक कार्यमा निम्तो दिन छाडेको सात महिना भएको छ । डाँस र मोरङ्गी खोलाबीचमा करिव १सय ५० घर परिवार रहेको छ जिरिखिम्ती गाउँमा ।

यो गाउँमा निम्तो भन्न जानेलाई दलितलाई नबोलाउनु भनेर पठाउने गरेको पीडित समुदायले बताएका छन् । 

भीमकुमारी बिक भन्छिन् शान्ति सुवेदीको घरमा भएको पुराण काण्डपछि तीन वटा बिहे र एउटा पुराण भयो । दलित परिवार कसैलाई बोलाइएन । निम्तो भन्ने व्यक्ति दलित भनेर चिनेको घरमा नपस्ने, दुविधा भए नाम सोध्ने अनि कामी, दमाई, नेपाली (सार्की) भन्यो भने फेरी आउँछु भनेर कार्ड नदिइ हिड्ने गरेको भीमकुमारीको भनाइ छ । एउटा छिमेकीको बिहेको निम्तो भन्न आउने व्यक्तिले नाम सोधे, सुमना नेपाली भनेपछि फेरी आउँछु भनेर हिडेपछि फेरि नआएको बताइन् । 

शान्ति सुवेदी र रिता दियाली (बिक)को मुद्धा त अदालतमा चलिरहेकै छ । गैर दलित समुदाय संगठित रुपमै दलित समुदायलाई बहिष्कार सुरु भएपछि सामाजिक समस्या बढेको हो । जिरिखिम्तीमा यस्तै स्थिति कायम रहेमा दलित परिवारले मलामीसम्म नपाउने स्थिति आएको शान्तिमाया बिकको भनाइ छ । शान्तिमाया भन्छिन ‘कि हामीलाई त्यो गाउँबाट अन्तै सार्नु प¥यो, होइन भने विभेद गर्ने व्यक्तिहरुलाई तुरुन्त कडाभन्दा कडा कारबाही गरियोस ।’

शान्ति सुवेदी र रिता दियाली (विक)को समस्या समाधान गर्नुपर्नेमा स्थानीय जगत तिवारी, ईन्द्रबहादुर कार्की, शंकर दाहाल, लक्ष्मी भट्टराई, रमेश ढुङ्गाना, जनक पोखरेल लगायतका व्यक्तिहरु संगठित रुपमै बहिष्कारमा लागेपछि समस्या बढेको स्थानीय लक्ष्मण गुरागाईको भनाइ छ । 

नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातीय विभेदलाई दण्डनीय अपराधको रुपमा लिएको छ । 

Untitled-3 (2) 6संघर्ष समिति गठन

जिरिखिम्तीमा करिव सात महिनादेखि समुदायगत रुपमा दलित समुदाय बहिष्कारणमा परेको बिषय बाहिरिएपछि सामाजिक तथा राजनीतिक पार्टीहरु सम्बद्ध दलित समुदायका नेताहरु सोमबार (पुस २) पथरी बहुमुखी क्याम्पसमा भेला भएर सामूहिक रुपमा संघर्ष गर्ने निर्णय गरेका छन् । 

भेलाले गोपाल लकान्द्रीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन भएको छ । भेलामा झापा, मोरङ, सुनसरीका राजनीतिक तथा सामाजिक संस्थाका दलित अगुवाहरु सहभागी भएका थिए । 

संघर्ष समितिको उपाध्यक्षमा लक्ष्मण गुरागाई, सचिवमा नरेश घतानी, सहसचिवमा गीता विक, कोषाध्यक्षमा मिना सिन्चुरी रहेका छन् । सदस्यहरुमा वीरध्वज शिवा (पथरी नगर कार्यपालिका सदस्य), राज विश्वकर्मा, सम्झना नेपाली, प्रकाश शिवा, ईन्दिरा सुन्दास लगायत रहेका छन् । 

संघर्ष समितिले चाँडै बैठक बसेर दलित समुदायमाथि समुदायगत रुपमा भएको बहिष्कार विरुद्ध संघर्षको कार्यक्रम अघि बढाउने संघर्ष समितिको संयोजक गोपाल लकान्द्रीले बताए । सामूहिक रुपमा अपराध गर्ने विरुद्ध भइरहेको संघर्षमा सहयोग गर्न राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानवअधिकारवादी आयोग, इन्सेक नेपाल, एमाले, कांग्रेस, माओवादी (केन्द्र), जसपा, मंगोल नेशनल अर्गनाइजेसन, दलित गैरसरकारी संस्था लगायतलाई सहयोग गर्न अनुरोध गरेका छन् । यी सबै निकायमा ज्ञापन पत्र दिदै अपराध कर्म गर्नेहरुलाई सजायको लागि सहयोग गर्न अनुरोध गर्ने संघर्ष समितिको सचिव नरेश घतानीले बताए । 

वडा नं. १० को अध्यक्षको खतिवडाको राजिनामा माग

भेलामा विचार राख्ने क्रममा नेकपा (एस)को केन्द्रीय सदस्य कृष्णकुमारी बिकले पथरीशनिश्चरे नगर १० नं. वडा अध्यक्ष जीवन खतिवडाको राजिनामा मागेकी छन् । 

वडा अध्यक्ष खतिवडाले जातीय विभेद जस्तो जघन्य अपराधीलाई कारवाहीको वातावरण तयार पार्नुपर्नेमा मिलाउन दबाब दिएको अरोप लगाउदै राजिनामा मागेकी हुन् । समुदाय गत रुपमा विभेदको विरुद्ध जीवन रहेसम्म लड्ने विकले बताए ।