काठमाडौं । तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्सा पाइन्छ । डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्साको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन् । ‘हिमाली धन’ ले परिचित यार्सा ३७ हजार जनसंख्या रहेको डोल्पालीको जीवनसँग मात्र जोडिएको छैन, यसले डोल्पालगायत पहाडी जिल्लाका बासिन्दाको जीवनस्तरमा समेत प्रभाव पार्दै आएको छ ।

छिमेकी रुकुम, जाजरकोट, सल्यान, मुगु, जुम्लालगायत जिल्लाबाट यार्सा टिप्नेहरू डोल्पा आउँछन् । धेरै राजस्व उठेको खबर सुनिन्छ तर यार्सा संकलनबाट वातावरणमा परेको असरको मुद्दा उठान भएको छैन ।

बढी राजस्व उठाउने होडबाजीमा निकुञ्जले पाटनहरूको क्षमताभन्दा बढी मानिसलाई यार्सा संकलन अनुमति दिँदै आएको छ । संकलकले खाना पकाउन आफैं मटीतेल लिएर जानुपर्ने नियम छ तर सबैजना बोकेर जाँदैनन् । मटीतेल बोकेर नजानेले दाउरा बटुलेर पकाउँछन् । ‘लेकमा त झाडीमात्रै हुन्छ, यार्सा संकलन गर्न जानेले रातभर त्यसलाई बालेर सखाप पारिसके’, डोल्पोबुद्ध गाउँपालिका–१ का अध्यक्ष क्याल्पो थापा भोटे भन्छन्, ‘यसबाट वातावरणमा नकारात्मक असर परिसक्यो ।

’ एउटै पाटनमा वर्षैपिच्छे किरा (यार्सागुम्बा) खोज्दा खनेको ठाउँमा घाँस उम्रिन छाडेको गुनासो छ उनको । घाँस र बुट्यान हुने पाखाहरू धमाधम मरुभूमिजस्तै बन्दैछन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।