काठमाडौं — स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार तीन हजार ५०० रुपैयाँ योगदानमा पाँच सदस्यीय परिवारले पाउने एक लाख रुपैयाँसम्मको उपचार सेवा यथावत् राखिएको हो।

बोर्डले उक्त रकममध्ये २५ हजार रुपैयाँ बहिरङ्ग (ओपिडी) सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याएको जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५०० रुपैयाँ योगदानमा एक लाख रुपैयाँसम्मको सेवा उपलब्ध हुन्छ। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य सात सय रुपैयाँ थप योगदान गर्नुपर्नेछ भने प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा पनि थपिने प्रावधान रहेको बोर्डले जनाएको छ।

सूचना अधिकारी मल्लका अनुसार पाँच सदस्यीय परिवारले वर्षभरिमा बढीमा २५ हजार रुपैयाँसम्मको ओपिडी सेवा लिन पाउनेछन्। पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप पाँच हजार रुपैयाँ बराबरको ओपिडी सेवा सुविधा कायम गरिएको छ।

बोर्डले अनावश्यक ओपिडी सेवा प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर र जटिल रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवाको रकम छुट्ट्याइएको स्पष्ट पारेको छ।

हाल स्वास्थ्य बीमा बजेटको करिब ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपिडी सेवामै खर्च भइरहेको बताइएको छ। यसका कारण गम्भीर रोग वा महँगो शल्यक्रिया आवश्यक पर्दा बीमाको रकम अपर्याप्त हुने र बिरामीले आफ्नै खर्च गर्नुपर्ने अवस्था सिर्जना भइरहेको जानकारहरूको भनाइ छ।

बोर्डले वास्तविक बिरामीको उपचारमा बीमाको रकम प्रभावकारी रूपमा प्रयोग होस् भन्ने उद्देश्यले ओपिडी, अस्पताल भर्ना र शल्यक्रियाजस्ता सेवामा छुट्टाछुट्टै खर्च सीमा तोकेको जनाएको छ।