विराटचोक,१२ पुस । सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित गायन प्रतियोगिता कार्यक्रम आज सम्पन्न भएको छ । 

क्याम्पसको सभाकक्षमा भएको कार्यक्रममा विभिन्न कक्षामा अध्ययन गर्ने १८ जना विद्यार्थीहरू सहभागी भएका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूको गायन कलाको मूल्याङ्कन साहित्यकार तथा क्याम्पसका पूर्वशिक्षक उमानाथ भट्टराई र लोकप्रिय सङ्गीत तथा गितकार जे.वि. थुलुङले गरेका थिए । 

प्रतियोगितामा बिएस्सी दोस्रो वर्षका मोहम्मद रजकले प्रथम स्थान‚ बिबिएस प्रथम वर्षका सविना राईले द्वितीय स्थान‚ बिएड चौथो वर्षका अन्तिम राईले तृतीय स्थान र बिबिएस तेस्रो वर्षकी रमा विश्वकर्माले चौथो/सान्त्वना स्थान हासिल गरेको घोषणा मूल्याङ्कन समितिले गरेको थियो । 

da60a1fd-07f7-47ff-983b-ef80fde93abdविजयीहुने गायकहरूलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारी‚ सहायक क्याम्पस प्रमुखहरू क्रमशः केशवराज भट्टराई‚ बलराम पोखरेल र गणेशप्रसाद दहालले पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका क्याम्पस प्रमुख अधिकारीले आगामी दिनमा विद्यार्थीहरूका क्षमता प्रस्फुटन गराउने कार्यका लागि क्याम्पसले विद्यार्थीहरूलाई सहयोग गर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा शिक्षक‚ कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।  विद्यार्थीको प्रतिभा पहिचान‚ विकास र प्रवर्धनका लागि अतिरिक्त क्रियाकलाप समिति र प्रतिभा पहिचान समितिले क्याम्पसमा कार्ययोजना सहित विविध कार्यहरू गरिरहेको जानकारी सहायक क्याम्पस प्रमुख दाहालले जानकारी दिएका छन् । उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले गरेका थिए ।