• ✍️ युवराज बास्कोटा 

आर्थिक वर्ष २०८१/०८२ का लागि नीतिगत रूपमा निर्देशित रहन आधारभूत तहका सरकारहरूले गर्नुपर्ने सभाको समय नजिकै छ । अधिवेशनको हिउँदेसत्रका रूपमा नगरपालिकाको नगरसभा र गाउँपालिकाको गाउँसभा नजिकै आइरहेका छन् । माथिल्ला सरकारद्वारा प्राप्त हुने बजेट सालिन्ना कटौति भइरहेको छ, अर्थात् काटिएर आइरहेको छ । नीति कार्यक्रम कार्यान्वयन गर्ने भनेको पैसाले हो । पैसा अभावमा योजनामा परेका धेरै कामहरू पनि भइरहेका छैनन् । 

यो यथार्थसामु यसको तरलता एकातिर छ, भने अर्कोतिर सेवाग्राही सर्वसाधरणका ठाउँमा यो पनि काम भएन, त्यो पनि भएन । फलानाको पालामा बरु राम्रो भएको थियो भनेर राजनीतिको रंगमञ्चमा चर्चा चुलिने गरेको छ । 

आफैंबाट र अहिलेबाट सुधार नगरे समयक्रममा राजनीतिक प्रणालीमाथि प्रश्न उठ्ने छ । खेल्नेले प्रशस्तै खेल्न पाउनेछन्, जतिखेर हामीलाई सच्चिन, सुध्रिन र प्रणाली सुधार्न ढिला भइसकेको हुनेछ । 

  • गर्ने के त !

१) माथिल्ला सरकारबाट मातहतमा आउनुपर्ने रकम झण्डै ३५ देखि ३९ प्रतिशत नआएको अर्थात् कटौति भएर आएको देखिन्छ । यसको प्रत्यक्ष असर जनसरोकारको क्षेत्र– मूलतः विकास–निर्माण, शिक्षादिक्षा र स्वास्थ्योपचारको क्षेत्रमा देखिन्छ । यसर्थ, यो अवस्था जे हो– जस्ताको तस्तै सार्वजनिक गरिदिने । 

२) जनप्रतिनिधि जागिर खान अर्थात् कमाउन निर्वाचित भएको होइन, त्यहाँ गएको पक्कै होइन । जनप्रतिनिधि स्वयंले आफ्नो निर्धारित कार्यावधिभर कार्यस्थलमा रहँदा लिने गरेको बैठक खर्च, यातायात खर्च र अनुगमन खर्च शीर्षकमा हुने खर्चलाई पूर्णतः निषेध गर्ने । कार्यालयीय प्रभाव क्षेत्र र समयबाहिर जनप्रतिनिधिले लिने गरेको सुविधालाई जिरोमा ल्याउने । 

३) अत्यावश्यकबाहेक विलासिताका सवारीसाधनलाई प्रतिस्थापन गर्ने र विलासी कार्यालय व्यवस्थापनलाई पूर्णतः विस्थापन गर्ने । 

४) मरमत गर्न सकिने कार्यालयीय वस्तुको अवस्थामा सुधार ल्याउने । सुधार गर्न सकिने अवस्था रहँदारहँदै फेरबदल नगर्ने । 

५) विपद् कोषलाई पनि परिभाषित र सम्भावित शीर्षकअनुरुप गर्ने र यसलाई एकद्वारबाट सञ्चालनमा ल्याउने । 

६) विविध खर्च शीर्षकमा राखिएको रकमलाई फलानो फलानो शीर्षकअनुरुप भनेर रकमान्तर गर्ने । यसमा पनि प्राथामिकता निर्धारण गर्ने । 

७) सिकाइका लागि निष्कर्ष केही निस्कन नसक्ने कतिपय अध्ययन, अवलोकन र अनुगमन बजेट शीर्षकलाई निरुत्साहित गर्ने वा एकदमै सीमित गर्ने । 

८) जनप्रतिनिधिको हकमा होस् वा कर्मचारीको हकमा ! दैनिक भ्रमणभत्ता, आवासभत्ता, कार्यालयीय खर्च आदि शीर्षकलाई निरुत्साहित गर्ने । 

९) सस्यानो अवस्थाकै किन नहोस् ! कार्यालय प्रयोजनका वस्तुको किनमेल सार्वजनिक टेण्डर प्रणालीअन्तर्गत अनिवार्य गर्ने ।

१०) शिक्षा र स्वास्थ्य क्षेत्रमा यदाकदा हुन सक्ने चुहावट रोक्न खुला प्रतिस्पर्धामार्फत नीतिगत अग्रसरता लिने । 

११) नियुक्ति प्रक्रियामा आफ्नालाई होइन, राम्रालाई भन्ने मानक स्थापित गर्न विषयगत आवश्यकताका हिसावले उत्कृष्ट ठहरिएका पात्रलाई लिने । 

१२) कर्मचारी पोशाकलगायतको शीर्षकमा छुटिएको रकम दैनन्दिन प्रयोगमा नआएको अवस्था भए यो सुविधा स्थगन गर्ने । 

१३) निर्माण क्षेत्रको रकम प्रयोग र विनियोजनलाई आन्तरिक सम्झौताअनुरुप फरफरार भएको अवस्था सार्वजनिक गर्ने । 

तत्काल यतिमात्र गर्न सकियो भने पनि उठेका कतिपय प्रश्नको व्यवहारिक उत्तर हुनेछ भने सुशासनको प्रत्याभूति सहित साझा अभिभारा पूरा गर्नमा संकल्पकृत रहेका व्यक्ति र शक्तिमाझ साझा दायित्वबोध हुनेछ ।