पथरी,२६ पुस  । आगामी बेशाखदेखि स्वीमिङ पुल लगायत पर्यटकीय क्षेत्र सञ्चालन सुरु गर्ने लगायतका निर्णय गर्दै मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन लिमिटेडको दोस्रो वार्षिक साधारण सभा समापन भएको छ ।

  बुधबार भएको साधारण सभामा अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा व्यवस्थित पानी पोखरी (स्वीमिङ पुल, वाल/वयस्क), चेन्जिङ रुम, पानी फिल्टर रुम, शौचालय, चमेना गृह, टिकट काउण्टर, सुरक्षा बीट, सवारी सधान पार्क लगायत तयारी भएको र आगामी २०८१ बैशाख १ गते सांगीतिक, सांस्कृतिक कार्यक्रमसहित उद्घाटन गरिने उल्लेख छ ।

हरियाली सामुदायिक वन लिमिटेडले २० करोड बढीको लगानीमा नेपालको आकारको बोटिङ पोखरी, स्वीमिङ पुल, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर निर्माण गरेर भौतिक संरचना निर्माण थालेको छ ।

हरियाली सामुदायिक वन उपभोक्ताको वन क्षेत्रमा उपभोक्ताहरुलाई शेयर सदस्य रहनेगरी पर्यटन विकास गर्ने उदेश्यले लिमिटेड दर्ता गरेर काम सुरु भएको हो । कम्पनीमा हाल ८ सय ६१ शेयर सदस्य रहेको छ ।

कम्पनीले शेयर सदस्यहरुबाट संकलित १ करोड ४६ लाख र संघीय सरकारबाट २ करोड ७० लाख गरी जम्मा ४ करोड १६ लाखमा स्मीमिङ पुल, चमेना गृह, पार्किङ लगायत निर्माण सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनी २०७७ सालमा स्थापना गरेर काम सुरु गरेको हो ।

कम्पनीको अध्यक्ष अशोककुमार राईको सभापतित्वमा भएको साधारण सभामा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, ७ नंं वडा अध्यक्ष उद्धव बस्नेत, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर, सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरी, देविप्रसाद भेटवाल, केशव दाहाल लगायतले शुभकामना दिएका थिए । कम्पनीको सदस्य रोहित बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।