पथरी,२७ पुस । पथरी जेसीसको १२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरणको कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे -२ को सिन भिलेज पाटी प्यालेसमा भएको उक्त कार्यक्रममा वर्ष ०२३ का निवर्तमान अध्यक्ष सुवर्ण खत्रीले वर्ष ०२४ का लागि नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्मालाई गोपनीयताको शपथ सहित अध्यक्ष पदको चेन हस्तान्तरण गरेका छन् ।
आजै भएको निर्वाचनको निर्वाचन आयुक्तकी सचिव अनु राईले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई नामावली सार्वजनिक गरेकी थिइन भने सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष राजकुमार विश्वकर्माले नव निर्वाचित कार्यसमितिलाई पूर्णता पनि दिएका थिए।
सोहि समारोहलाई संबोधन गर्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष नवीन पोख्रेलले युवा जनशक्तिलाई सशक्तीकरण गर्दै समाज र राष्ट्रको अझै बढि समृद्धि प्राप्त गर्न नेपाल जेसीजको राष्ट्रिय एजेन्डा रहेको उल्लेख गरे।
कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। यसैक्रममा पथरीशनिश्चरे -४ का वडा अध्यक्ष लोकनाथ न्यौपाने , वडा नं १० वडा अध्यक्ष जीवन खतिवडा , समाजसेवी तुलाराम अधिकारी र व्यवसायी राजेन्द्र बस्नेतलाई कदर पत्र सहित दोसल्ला ओढाएर मानार्थ सदस्यको सम्मान गरिएको थियो। त्यस्तै, जेसीस गतिविधिहरुमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भूमि प्रसाद पाठकलाई पनि सम्मान गरिएको थियो। पथरी जेसीसकी प्रथम लेडिज दुर्गा तिम्सिना,जेसी नगेन्द्र घिमिरे, अमर नेपाली समेत पुरस्कृत भएका थिए।
निवर्तमान अध्यक्ष सुवर्ण खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधान सभाका सभाषद लालबहादुर सुस्लिङ मगर,पथरीशनिश्चरे नगरका पूर्व मेयर दिलिपकुमार राई, समाजसेवी युवराज बास्काेटा, युवा व्यवसायी प्रदीप राई , लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई महासचिव अनुज घिमिरेले संचालन गरेका थिए ।




















