काठमाडौँ,२९ पुस । डा. महेशकुमार गौतमले विदेश जाने अवसर त्यागेर बालबालिकाको उपचार गर्न आफैँले अस्पताल खोलेका थिए
डा. महेशकुमार गौतम शनिबार छोराछोरी, श्रीमती र सासू–ससुरा लिएर मकवानपुरको चित्लाङतर्फ जाँदै थिए । छोराछोरीको स्कुल बिदा र आफूहरूको पनि शनिबार बिदा हुने भएकाले उनी बिदा मनाउन चित्लाङ जान लाजिम्पाटबाट निस्किएका थिए । ३–०१–२३ च ६९८५ नम्बरको निजी कार आफैँले हाँकिरहेका उनी गन्तव्यमा पुग्न सकेनन् ।
थानकोट हुँदै हिमचुली सेतो पहरा भन्ने ठाउँमा पुग्दा करिब २ बजे उकालोमा कारले तानेन । बाटो अप्ठ्यारो र उकालो पनि भएकाले डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम झरेकी थिइन् । पिकअप लिनका लागि केही पछाडि आउँदै थियो, गाडीको ब्रेक नै लागेन । उनले कारले सडक डिल छाड्न थालेपछि ढुंगाको ओत लगाउन खोजिन्, तर असफल भइन् । हेर्दाहेर्दै कार भिरबाट तल खस्यो । अब चिच्याउनुबाहेक उनीसँग केही उपाय थिएन । कार ढुंगा र चट्टानमा बजारिँदै आँखाले नै ठम्याउन नसक्ने ठाउँसम्म खस्यो । आँखैअगाडि जीवनका सबैभन्दा प्रिय व्यक्ति गुमाइन् । दुर्घटनामा श्रीमान्, छोराछोरी र आमा–बुबालाई एकै छिनमा गुमाउनुपर्दा डा. सृष्टि मूर्च्छित छिन् ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार कार सडकबाट ६ सय मिटर तल खसेको थियो । कार दुर्घटनाका क्रममा ३८ वर्षीय डा. गौतमसहित उनीका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीय छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीको ज्यान गयो ।
चारजनाको घटनास्थलमै तथा मृतक डा. गौतमकी छोरी स्मारिकाको वयोधा अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रहरीका अनुसार दुर्घटना भएको सडकखण्ड निकै उकालो, अप्ठ्यारो, कमलो माटो भएको ठाउँ छ । सडकको खराब अवस्थाका कारण दुर्घटना भएकाे आकलन गरिएको छ । यो समाचार नयाँ पत्रिकामा छ




















