काठमाडौं,२९ पुस  । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्

जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको थियो । आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

पति गिरीले आफूलाई बन्धक बनाएर कुटपिट, यौनशोषण र हिंसा गरेको आरोप लगाउँदै पत्नी रावलले कानुनी कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा गत मंसिरमा जाहेरी दिएकी थिइन्।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा ४ मा वैवाहिक बलात्कारसम्बन्धी व्यवस्था छ। वैवाहिक सम्बन्ध रहेको अवस्थामा पतिले पत्नीलाई जबजरस्ती करणी गरे पाँच वर्षसम्म कैद हुने व्यवस्था छ। कानुनमा बिहे भए पनि वैवाहिक सम्बन्ध कायम नभएको मानिने व्यवस्था पनि छ। पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको, पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको बेला वैवाहिक सम्बन्ध कायम नभएको मानिन्छ।