काठमाडौँ,४ माघ । क्यानडामा अलपत्र  एक नेपाली विद्यार्थीको उद्धार गरी स्वदेश फर्काइएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडाले नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फर्काएको हो ।

 सिद्धार्थनगर नगरपालिका–८, बुद्ध पथका २३ वर्षीय साहिल श्रेष्ठ रहेको एनआरएनले क्यानडाले जनाएको छ । उनी झण्डै एक वर्षअघि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न टोरण्टोको स्कारब्रोस्थित सेन्टेनियल कलेज भर्ना भएका थिए ।

रोजगारी नपाएपछि कोठा भाडासमेत तिन नसक्ने अवस्थामा पुगेका थिए । यहि कारण श्रेष्ठ डिप्रेसनको सिकार भएका उनी  अस्पतालमा उपचाररत थिए । 

उनलाई एनआरएनए क्यानडाका कमल ज्ञवालीले उद्धार गरेर स्वदेश फिर्ता पठाएका हुन् । उनी बुधबार बिहान काठमाडौँ आइपुगेको ज्ञवालीले जानकारी दिए । 

‘‘उहाँ बेवारिसे अवस्थामा रहेको क्यानडा प्रहरीबाट जानकारी पाए लगत्तै हामीले ब्राम्पटनमा रहेको सिबिक अस्पतालबाट उद्धार गर्यौं’ उनले भने ‘उहाँ नेपाल पुग्नुभयो । एयरपोर्टमा परिवारजनले जिम्मा लिइसक्नुभयो’ । 

पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि  उत्कृष्ट गन्तव्य हो । तर रोजगारी अभावले उनीहरूको अवस्था भयावह बन्दै गएको एनआरएनले जनाएको छ ।