बेलबारी,२१ माघ  । मोरङको बेलबारीबाट सुनसरीको ईनरुवा सरेको प्रदेश प्रहरी अस्पताल बेलबारीमै पुर्नस्थापनाका लागि पहल भईरहेको भएपनि सम्भावना भने टर्दै गएको छ ।

प्रहरी स्रोतका अनुसार बेलबारीमा अस्पताल फर्किने बिषयमा  अहिलेसम्म कुनै निर्णय भएको छैन । स्थानीय तहले पनि सो बिषयमा खासै चासो देखाएको छैन । अस्पतालका बिषयमा के हुँदैछ भनेर स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले सम्म सम्बन्धित निकायमा सोधीखोजी नगरेको पाईएको छ । अस्पताल कहिले फिर्ता आउँछ भन्ने अन्यौलता कायमै रहेको छ । 

बेलबारीमा प्रदेश प्रहरी अस्पताल फर्काउन जग्गाको जोहो गर्नेदेखि बार्षिक रुपमा आर्थिक सहयोग लगायत प्रदेश देखि केन्द्र सम्म लबिङ समेत भईसकेको बताइृएपनि  प्रदेश अस्पताल फर्किने बिषय भने टुंगो लाग्न सकेको छेन । 

अस्पताल सरेको २ महिना बितिसकेको छ,तरपनि अस्पताल फर्किने बिषयमा अझै अन्यौलता र आशंका कायमै छ । अस्पताल फर्काउने बिषयमा पोजेटिभ कुरा भईरहेपनि मिति टुंगो नलागेको बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई  बताउँछन । उनले अस्पतालका लागि भौतिक संरचना समेत लगभग तयारी अबस्थामा राखेको बताए । बेलबारी ४ मा रहेको नगर अस्पतालको भवन तत्कालका लागी प्रदेश प्रहरी अस्पताललाई उपलब्ध गराउने गरी माघ १५ सम्ममा तयारी गरी नगरलाई बुझाउन ठेकेदारलाई निर्देशन दिईसकेको समेत बताए । 

अघिल्लो महिना नेपाल प्रहरीको काठमाडौँबाट प्रहरी नायब महानिरीक्षक विजयराज श्रेष्ठ, वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्की प्रहरी चिकित्सक तथा इञ्जिनियर अधिकृतहरू सहितको टोलीले जग्गा र पुर्वाधार हेरेर फर्किएपनि अस्पताल फर्काउने वा नफर्काउने बारेमा प्रहरीको स्पगट धारणा आएको छैन ।

यसअघि २०७९ फागुनमा बेलबारी३ स्थित पुरानो ईलाका प्रहरी कार्यालय परिसरमा प्रहरी प्रादेशिक अस्पताल उद्घाटन भई संचालन हुँदै आएको थियो तर भवन निर्माणका लागि उपयुक्त र पर्याप्त जग्गा तथा पुर्वाधार नभएको भन्दै अचानक २०८० मंसिर २६ गते राती प्रहरी प्रादेशिक अस्पताल इनरुवा सारिएको थियो ।

चौतर्फी दाबाब र बिरोधपछि मोरङ तथा बेलबारीका नेताहरू र जनप्रतिनिधिको टोली काठमाडौ गई प्रधानमन्त्री र नेपाल प्रहरीका आइजिपीसहित प्रहरी अस्पतालको  टिमलाई भेटेर  प्रादेशिक प्रहरी अस्पताल बेलबारीमै पुनस्थापना  गराउने सहमति गरी फर्केको थियो ।बेतना दैनिकबाट