चरिकोट - मेलुङ गाउँपालिका वडा नम्वर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणी न्यौपाने आज विहान घर नजिकै मृत फेला परेका छन ।
मेलुङ १ पवटीस्थित परिवारसँगै घरमा वसेका न्यौपाने आज विहान करिव ५ बजेको समयमा घर नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको स्थानीयवासीले बताएका छन ।
दोलखाको मेलु्ङ गाउँपालिका वडा नम्वर १ पवटीमा रहेको सुर्यदय बचत तथा ऋण सहकारी संस्थामा माघ १५ गते राती ३२ लाख ८७ हजार रुपैयाँ सहकारीको भल्टबाटै चोरी भएको भनी संचालकहरुले बताएका थिए । न्यौपानेको घरमा रहेको सहकारी चोरी भएपछि प्रहरीले आज मृत फेला परेका एमाले नेता न्यौपानेलाई अनुसन्धाको लागि भन्दै गत माघ १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सरकारी सेवाबाट अवकाश प्राप्त न्यौपानेलाई घर धनी भएकै आधारमा सहकारी चोरीको मुद्धामा दोलखा प्रहरीले पटक पटक नियन्त्रणमा दिँदै छाडदै गरेको थियो । प्रहरीले घटनाको विषयमा गहिरो अनुसन्धान नगरी पटक पटक नियन्त्रणमा लिएर चरम यातना दिने गरेको मृतकका भाई कोशिषमणी न्यौपानेले बताए ।
माघ १७ गते नियन्त्रणमा लिएका न्यौपानेलाई प्रहरीले अनुसन्धानको बहानामा हिरासतमा राखेर केही छाडेको थियो । पुनः नियत्रणमा लिई फागुन २ गते न्यौपानेलाई प्रहरीले हिरासतमुक्त गरेको थियो । सहकारी चोरीको घटनामा संचालकहरुलाई सामान्य सोधपुछ समेत नगरी घरधनीलाई मात्रै पटक पटक नियन्त्रणमा लिने र यातना दिने गरेपछि स्थानीय तथा सहकारीका शेयर सदस्यहरुले प्रहरी प्रशासनको अनुसन्धानको नियतमा चौतर्फी आलोचना गरेपछि न्यौपानेलाई फागुन २ गते छाडिएको थियो ।
हिरासतबाट मुक्त भएपछि न्यौपाने पवटीस्थित घर गएका थिए । घरमा परिवारसँग रहेका न्यौपानेलाई दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले मदिरा सेवन गरी राती करीव १० बजे टेलिफान गरेको र मानसिक यातना दिएको परिवारका सदस्यहरुले बताएका छन् ।
हाल मृततको साथमा रहेको मोवाईल समेत प्रहरीले आफ्नो साथमा राखेका छ । सहकारी चोरीमा अनुसन्धाको लागि प्रहरीलाई सघाउने बताइरहेका न्यौपानेलाई पटक पटक प्रहरीले जवरजस्ती दोषी देखाउने प्रयाश गरेको र मानसिक यातना दिएको कारण आत्महत्याको बाटो रोजेको आफन्तहरुले बताएका छन् ।
देशभर सहकारी ठगीको घटना वाहिरी रहँदा सो सहकारी समेत चोरी भएको नभई संचालकहरुबाट ठगी भएको हुन सक्ने स्थानीयको आशंका छ । ग्रामीण क्षेत्रमा रहेको सो सहकारीमा नगद ३२ लाख ७८ हजार रकम भए÷नभएको समेत एकिन गर्नका लागि प्रहरीलाई स्थानीयहरुले आग्रह गरेका थिए । सहकारीका संचालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु पर्ने शयेर सदस्यहरुले माग गरेका छन् ।
दोलखाका प्रहरी प्रमुख खड्का पटक पटक विभिन्न घटनामा विवादमा आउने गरेका छन । दोलखाकै चेली विवाह गरेका डिएसपी खडकाले हरेक घटनामा आर्थिक लाभ लिने तथा दोषी उम्काउन निर्दाेषलाई फसाउने अभियान चलाउँदै आएको आरोप लागेको छ । प्रहरी प्रमुख खडका अधिकांश घटनामा विवादमा आउने गरेका छन ।
केही समयअघि भरुवा बन्दुक मुद्धामा पक्राउ परेका व्यक्तिहरुलाई चरम यातना दिएको र दवावमा वयान दिन लगाएको भन्दै मानव अधिकार आयोगमा समेत उजुरी परेको छ । डिएसपी न्यौपानेको यातना सहन नसकी आत्महत्या रोजेका न्यौपानेको शव हाल चरिकोटस्थित पशुपति चौलागाई स्मृती अस्पतालमा राखिएको छ ।
घटनाको विषयमा डिएसपी खड्काले वास्तविकता बताउनु पर्ने, कार्यालय समयमा समेत मदिरा सेवन गरी नागरीकहरुलाई आतंकीत पार्ने हुँदा प्रहरी प्रमुखको मापसे परिक्षण गरिनु पर्ने, सहकारी चोरी वा घोटला छानवीन गरिनु पर्ने, संचालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु पर्ने भन्दै परिवारहरुले शव पोसर्माटम गर्न दिएका छैनन । जनता टाइम्सबाट




















