पथरी - मोरङको पथरी शनिश्चरे वडा नं. ७ स्थित किर्तिपुर बजारमा अस्थायी प्रहरी चौकीको उद्घाटन भएको छ । प्रहरी चौकीको बिहीबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका हुन् ।
पथरी शनिश्चरे वडा नं. ७ र ४ को सिमानामा अवस्थित प्रहरी चौकीले किर्तिपुर बजार लगायत आसपासको शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यून गर्न सहयोग पुग्नेछ ।
अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली खटाइएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठले जानकारी दिए ।
वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा एसपी नवराज कार्की, समाजसेवी जहरमान लिम्बु, इप्रका पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, पूर्व वडा अध्यक्षद्वय कपिलमणि ढकाल र गोविन्द बहादुर भण्डारी लगायतको उपस्थिति थियो । वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रममा वडा सदस्यहरु र वडावासीहरुको बाक्लो उपस्थिति थियो ।




















