बेलबारी - मोरङको बेलबारीमा गत शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुरानो बेलबारीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका झापाको कमल गाउँपालिका २ का ४६ वर्षीय हरि खनालको उपचारका क्रममा मृत्यु भएको हो । विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका खनालको मृत्यु भएपछि सो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४ जना पुगेको छ।
यसअघि दुर्घटना भएकै दिन खनालकै श्रीमती ४४ वर्षीया दीपा खनाल र ५२ वर्षीय यदुकान्त भट्टराईको घटनास्थलमै र जिप चालक ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकी सोही स्थानकी गायत्री भट्टराईको न्यूरो अस्पतालमै उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बससँग ठोक्किएपछि बसको पछाडि आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै जीपमा यात्रा गरिरहेका थिए ।




















