सुनसरी, २६ असार । एक्कासी लडेपछि अस्पताल भर्ना भएकी सुनसरीकी एक शिक्षिकाको उपचारकै क्रममा ज्यान गएको छ ।

धरानकी १९ बर्षीय सृष्टि अधिकारीको लो ब्लड प्रेसरका कारण मृत्यु भएको जनाइएको छ । सृष्टिका आफन्तहरुका अनुसार एक्कासी लडेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
धरान–१२ मा बस्दै आएको अधिकारी परिवारको आर्थिक अवस्था समेत कमजोर छ ।

कक्षा १२ पढेर धरानकै मेरो मन्टेश्वरीमा पढाउँदै आएकी सृष्टिको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । ‘डाक्टरहरुले प्रेसर लो छ भनेका थिए । हामीले आठ दिनसम्म आयुसीमा राखेर उपचार गरायौं, तर, छोरीलाई बचाउन सकिएन’, सृष्टिका आमा बन्दना अधिकारीले सुनाइन् ।

अचानक छोरी गुमाउनु पर्दा मर्माहत बन्दनाले छोरी गुमाउँदाको पीडा पोखिन्, ‘छोरीले केहि गर्लिन् भन्ने थियो तर, अचानकमै गुमाउनु पर्‍यो ।’ चिकित्सकहरुले प्रेसरको समस्यालाई नजरअन्दाज गर्न नहुने बताएका छन् ।