चन्द्रगढी — झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा एक बिरामीको सानो आन्द्राको भित्र भागबाट माछाको काँडा शल्यक्रिया गरी निकालिएको छ । शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट माछाको करिब ४ सेन्टिमटरको काँडा शल्यक्रिया गरी निकालिएको हो ।
सहनीको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शल्यक्रिया गरी माछाको काँडा निकाल्न सफल भएका थिए ।
बिहीबार घरमा माछा पकाएर खाएका सहनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पताल उपचार गराउन उनी पुगेका थिए । सुरुमा चिकित्सकले एपेन्डीसको दुखाई भनेर आशंका गरेर शल्यक्रिया गर्नुपर्छ भनेर उनी अस्पताल भर्ना भएका थिए ।
तर एपेन्डीसको शल्यक्रिया गर्ने क्रममा पित्त देखियो । ‘कतै बिरामीको आन्द्रा फुट्यो कि भनेर शंका लाग्यो,’ सर्जन डा. विनेश झाले भने, ‘आन्द्रामा सानो तुस्सा (मासु) पलाएको रहेछ । त्यो सानो आन्द्रामा देखियो र त्यसमा प्वाल पनि परेको रहेछ'धन्न समयमै शल्यक्रिया गरी काँडा निकालेर बिरामीलाई बचाउन सफल भयौं डा. झाले भने।’ काँडा निकालेपछि बिरामीको दुखाई धेरै कम भएको र उनको अस्पतालमै राखेर उपचार गरिरहेको डा.झाले जानकारी दिए ।




















