मोरङ  —  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि मोरङ  जिल्लाबाट साढे १७ हजार विद्यार्थीले परीक्षा दिने भएका छन् । 

जिल्लाका  ४ सय ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयबाट यस वर्ष ७० परीक्षा केन्द्रबाट कूल १७ हजार ५ सय ४३ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी हुनेमा नियमित तर्फ १६ हजार ८ सय ८० जना, प्राविधिक तर्फ ५ सय ९६ र ग्रेड वृद्धिका लागि २ सय ६७ जना विद्यार्थीले फारम भरेको शिक्षा विकास समन्वय ईकाई मोरङले जनाएको छ। 

शिक्षा विकास समन्वय ईकाईका अनुसार एसईई परीक्षाका लागि ७० ओटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।गत वर्षको एसईई परीक्षामा नक्कली परीक्षार्थी फेला परेका ५ विद्यालयमा यस बर्ष परीक्षा केन्द्र नरहने भएके छ । ती विद्यालयबाट २ वर्षका लागि परीक्षा केन्द्र हटाइएको इकाई प्रमुख टंक गौतमले बताए ।

परीक्षा केन्द्र हटाइएका स्कूलहरूमा केराबारी ७ को सार्वजनिक मावि, सुन्दरहरैंचाको जनता मावि पचाम, ग्रामथाम २ को सरस्वती मावि, धनपालथानको सर्वोदय मावि र दादरबैरियाको सरस्वती मावि छन् ।

खुल्ला शिक्षा अन्तर्गत भएको परीक्षामा ठूलो संख्यामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएको पाइएपछि राष्टिय परीक्षा बोर्डको निर्णय अनुसार २ वर्षसम्म ती परीक्षा केन्द्रहरू हटाइएको इकाई प्रमुख गौतमले बताए ।

यो पनि —  सविना विश्वाश नेपाल टपर भएपछि थारु बस्तीमा खुशीयाली,सुकुना क्याम्पस चर्चामा