धरान — धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा हत्या गरेको अवस्थामा फेला परेकी २१ वर्षीया युवती सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धनकुटाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेल थरका ती युवकले सुमनाको हत्या गरेको स्वीकारेको एक प्रहरी अधिकृतले जानकारी दिए । सुमनाले आफूलाई धोका दिएका कारण हत्या गर्नुपरेको बयान दिएको ती प्रहरी अधिकृत बताउँछन् ।
उनलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा प्रहरी लागेको प्रहरी अधिकृत बताउँछन् । बीपी प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो ।
ती युवती धरानकै एक कलेजमा कक्षा–१२ मा अध्ययनरत थिइन् ।
प्रहरीले ९९ प्रतिशत हत्याराको नजिक पुगिसकेको जानकारी दिइसकेपछि पोष्टमार्टमपछि आफन्तले शव बुझी अन्त्येष्टी समेत गरिसकेका छन् । बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् ।
सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको छ ।
मृतक सुमना मङ्गलबार ५ बजेतिर साथीको फोन आएको पैसा लिन जानुछ भन्दै घरबाट हिँडेकी थिइन् । तर बुधबारसम्म पनि उनी घर फर्केकी थिइनन् ।




















