विराटचोक — मोरङ सुन्दरहरैंचा ५ स्थित नयाँ वृन्दावन गौशालामा निर्मित विश्वकै सबैभन्दा अग्लाे गाईकाे प्रतिमा अनावरण गरिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रतिमा अनावरण गरेका छन् । फाइबरको कच्चा सामाग्री प्रयोग गरेर निर्माण गरिएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तले भवनमाथि निर्मित छ ।
अनावरण कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । फूलको होली समेत खेलिएकाे समारोहमा हजारौं श्रद्धालु भक्तजन, विभिन्न भजन समूहबाट समेत बाक्लो उपस्थिति थियो । महिलाहरुले नौमती बाजाका धुनहरु बजाउँदा कार्यक्रम स्थल गुञ्जायमान भएको थियो।
सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको गौशालामा गाईको प्रतिमा र भवन निर्माणको लागि नगरले झण्डै एक करोड रुपैया बजेट विनियोजन गरेको थियो। नयाँ वृन्दावनको व्यवस्थापन राधेश्याम सेवा ट्रस्टले गरिरहेको छ। विश्वकै अग्लो गाईको विशाल प्रतिमाले यस क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकास गर्ने अपेक्षा गरिएको छ ।
२०६५ सालमा स्वामी दीनबन्धु शास्त्रीले श्री राधेश्याम सेवा ट्रष्टको गठन गरी गौशालाको धार्मिक एवं पुरातात्विक महत्वको खोजी सुरु गरिएको थियो । लाखौं खर्च गरी बर्सेनी हजारौं नेपालीहरु दर्शनका लागि भारतका चारधाम जाने अनि धेरै नेपाली लुटिने पनि गरेकाले नेपाली धार्मिक पर्यटकलाई नेपालमै रोक्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित गौशालामा गाईको संसारको ठूलो गाईको प्रतिमा प्रतिमा निर्माण भएको शास्त्रीले बताए ।
३९ लाख ३२ हजार रुपियाँमा निर्माण गरिएको बाच्छोसहितको गाईको प्रतिमा राखिसक्दा १ करोड ५० लाख रुपियाँ खर्च भएको छ । जमिन सतहबाट १३ फिट अग्लो संरचना बनाएर त्यसमाथि ३६ फिट ३ इन्च अग्लो गाईको प्रतिमा निर्माण गरिएको छ । तर प्रतिमा बनाउन भन्दा प्रतिमा राख्ने जग निर्माणमा धेरै खर्च भएको छ ।
महाभारतमा उल्लेख भएका ठाउँहरू मोरङको यही भूगोलमा पर्ने बताउँदै उहाँले भीमचौरी, गोठगाउँ, विराटचौक, इन्द्रपुर, कानेपोखरीजस्ता ठाउँहरू महाभारतको कथासँग जोडिएका पवित्र भूमि भएको र भगवानको क्रीडास्थल भएकाले यस स्थानमा नयाँ वृन्दावन बनेको शास्त्रीले बताए । यही भूगोलमा अझै पनि महाभारतकालीन गरगहना, हतियार, ढुङ्गाका प्रतिमाहरू भेटिने गरेको शास्त्रीको भनाइ छ । बूढीगङ्गा तटमा रहेको नयाँ वृन्दावन गौशालाले भारतको वृन्दावनको झल्को दिने मात्र होइन, महाभारतकालीन ठाउँसँग जोडिएको यस क्षेत्रमा धार्मिक रुपमा सबैथोक छ । नयाँ वृन्दावनको गौशालामा स्थानीय जातका झन्डै चार दर्जन गाइ पालिएका छन्। सुरुमा गोपालबहादुर न्यौपानेले १४ कट्ठा जमिन दिएपछि नयाँ वृन्दावनको निर्माण शुरु भएको थियो । दाताहरूले थप जग्गा दान गरेपछि हाल १२ बिघा जमिनमा पूर्वाधार निर्माण भइरहेका छन् । दुईवटा आश्रम निर्माण भइसकेका छन् । पाँच हजार भक्तजन अटाउने अनुष्ठान भवन पनि निर्माण भएको छ ।
नयाँ वृन्दावनको मुख्य आकर्षणका रुपमा सबै गोत्रका प्रवर्धक १० ऋषिहरूको धातुको प्रतिमा निर्माण भएको छ । वृन्दावनमा वैदिक गुरुकुलसमेत पढाइ हुनेगरेको छ । गुरूकुलमा देशभरका चार दर्जन बटुक आवासीय रुपमा अध्ययन गरिरहेका छन् । बालबालिकाका लागि अनाथालय र वृद्धाश्रम निर्माण गर्ने योजना छ । नयाँ गौशाला निर्माणका लागि १५ वर्षको बिचमा १० करोड रुपियाँ पूर्वाधार निर्माणमा खर्च भएको छ । हालसम्म निर्माण भएका पूर्वाधारमा खासै ठुलो सरकारी सहयोग प्राप्त भएको छैन।



















