• आचार्य अमृत 

मिति २०८१/०१/२१ का दिन बेलबारी बहुमुखी क्याम्पसमा एउटा चिरस्मरणीय कार्यक्रम सुसम्पन्न भयो । लायन्स क्लब बेलबारीको संयोजनमा उक्त कार्यक्रम आयोजित थियो । सकारात्मक जीवनशैली कसरी अँगाल्न सकिन्छ भन्ने बारेमा सकारात्मक सोच अभियानका प्रवक्ता डा. राजु अधिकारीद्वारा सम्भाषण गरिएको थियो । ध्यान, योग र प्राणायामका बारेमा सङ्क्षिप्त प्रकाश पारिएको उक्त कार्यक्रममा  खानपानका बारेमा विशेष जोड दिइएको थियो । तिर्खा नलाग्ने खानेकुरामा जोड दिने, घामको चुलामा पाकेको अर्थात् प्रकृतिले पकाएको खानेकुरालाई बढी महत्त्व दिनुपर्ने, परिचय राम्ररी खुलेको खाना मात्र खानुपर्ने, बोटमा फलेको खानेकुरालाई प्राथमिकतामा राख्नुपर्ने र प्रकृतिमा जन्मिएको खानेकुरा खान विशेष प्रयत्न गर्नुपर्ने अर्थात् जङ्क फुडको प्रयोग कदापि गर्न नहुने कुराहरू व्याख्यानका क्रममा आएका थिए । त्यहाँ उपवासको महत्त्वका बारेमा पनि राम्ररी प्रस्ट्याइएको थियो । भोक लागेपछि मात्र खाने बानीको विकास गरियो भने त्यो स्वास्थ्यका लागि बढी हितकर हुने कुरा पनि प्रस्तुतिका क्रममा बताइएको थियो । दीर्घायु, सुखायु र हितायुको व्याख्या गर्दै डा. अधिकारीले भन्नुभएको थियो, "सबै मानिसहरू दीर्घायु हुन चाहन्छन्, तर तिनको स्वास्थ्य खराब भयो भने त्यो दीर्घायु बोझसिवाय केही हुँदैन । त्यसैले सुखायु पनि हुनुपर्छ र यसका लागि निरन्तर योग, ध्यान, प्राणायाम र उपयुक्त खानपान भयो भने मात्र दीर्घायु हुनुको सार्थकता सिद्ध हुन्छ र त्यो आयु हितायु अर्थात् कल्याणकारी हुन जान्छ ।" संस्कार, संस्कृति र विकास तब सम्भव छ जब हामी सही जीवनशैली के हो भनेर ठम्याउन सक्छौँ र तदनुरूप आफूलाई ढाल्दछौँ । हामी अरूका कारणले कम र आफ्ना कारणले बढी दु:खी भइरहेका हुन्छौँ । मुखलाई ठिकसँग प्रयोग गर्न नजान्दा नै हाम्रो  कन्तबिजोक भइरहेको छ । जे देखे पनि मुख बाइहाल्ने अधोगामी प्रवृत्तिले गर्दा नै हामीलाई अल्पायुमै  अनेक रोगले सताइरहेका छन् । पाउ गरम, हृदय नरम र दिमाग ठन्डा राख्न सक्यौँ  भने मात्र हामी स्वस्थ रहेको प्रमाण मिल्दछ ।

amrit achryaप्रस्तुतिका क्रममा बालयोगी आदित्यको अलौकिक क्षमताका बारेमा पनि विशेष चर्चा गरिएको थियो । संसारका सबै भाषामा उत्तिकै दखल भएका आदित्यलाई अहिले चैतन्यका नामबाट चिनाउन थालिएको रहेछ । राष्ट्रको शीर्षस्थानमा रहेर राष्ट्रसेवामा लागिरहेका प्रमुख व्यक्तिहरूसमेत  आएर  योगी चैतन्यसँग  सल्लाह माग्ने गरेको जानकारी पनि दर्शक/श्रोतालाई गराइएको थियो ।

मोटामोटी डेढ घण्टाको प्रस्तुतिमा दीर्घ जीवन हर्षोल्लासपूर्वक जिउन सकिने अनेक उपाय बताइएका थिए । संसारकै सबभन्दा खुसी व्यक्ति भनेर फ्रान्सेली बौद्धभिक्षु म्याथ्यु रिचार्डको नाम लिइएको थियो, अनि पर्दामा उनको हाँसेको तस्बिर पनि देखाइएको थियो । उनी केही वर्षदेखि नेपालमै बसोबास गर्दै आएका रहेछन् ।

पश्चिमी मुलुकहरूमा गाडीमा हुइँकिइरहेका मानिसहरूका लागि भनेर निश्चित दुरीमा Stop, Relax and Go भनेर लेखिएको हुँदो रहेछ, जसको तात्पर्य रहेछ एकछिन रोकिनु, सानोतिनो मनोरञ्जन गर्नु र पुन: यात्रा सुरु गर्नु । यसो गर्नाले ज्यादा नथाकिने, आनन्दित हुँदै उत्साहका साथ अघि बढ्ने ऊर्जा प्राप्त हुने रहेछ ।

क्याम्पसको हल विद्यार्थी, प्राध्यापक, जनप्रतिनिधि, समाजसेवी र विभिन्न क्षेत्रमा कार्यरत आमन्त्रितहरूले खचिखचाउ थियो । प्रदेश सांसद तथा बेलबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री ज्ञानेन्द्र सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी श्री प्रदीपकुमार साह, क्याम्पस प्रमुख श्री भूपेन्द्रबहादुर कोइराला एवम्  सकारात्मक सोच अभियानमा सक्रिय रूपले भूमिका निर्वाह गरिरहनुभएका युवा अभियन्ता  श्री हरि ( परशुराम ) दाहालको उपस्थिति रहेको उक्त कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो ।

मलाई लाग्यो, प्रदेशकै प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसले चाहिँ यस्तो कार्यक्रम कहिलेसम्ममा गर्ला ! त्यस्तै सुकुना माध्यमिक विद्यालयको पनि यतातिर ध्यान जान्छ कि जाँदैन होला ! अनि अरू विद्यालयहरूको पनि !

मेरो विचार भन्ने हो भने डा. राजु अधिकारीलाई मुलुकका ७७ ओटै जिल्लामा पालैपालो आमन्त्रण गरी उहाँका विचार सुन्नुपर्छ, सहज रूपले जीवन जिउन चाहने हो भने । 

Dr. Adhikari is an International level Motivational Speaker. 

बेलबारी बहुमुखी क्याम्पसका लागि आजको दिन विशेष सुखद दिन हो भन्ने मलाई लाग्छ ।