काठमाडौं — मोरङ पथरीशनिश्चरे–१ का पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन्  । सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा उनी पक्राउ परेका  । उनलाई मंगलबार साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको हो । काफ्लेले प्रमाणबिना पथरीशनिश्चरे नगर पूर्वप्रमुख दिलीपकुमार राईको फोटो आँखामा पट्टी लगाएर पोष्ट गरेका थिए ।

यसैगरी, संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि पोष्ट थिए  । काफ्लेलाई साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । जिल्लाले आदेश दिएपछि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठले काफ्लेलाई पक्राउ गरेर जिल्ला पठाएका थिए ।

काफ्ले पक्राउ परेकोबारे विभिन्न व्यक्तिको स्टाटसबाट सार्वजनिक भएपछि उनले आफैंले पनि स्टाटस राखेका छन्  । काफ्लेले प्रमाणबिना शंका र कसैले भनेकै भरमा स्थानीय व्यक्तिहरुलाई गम्भीर अपराधीझैं आँखामा पट्टी समेत लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए  । प्रमाणित नहुने विषय फेसबुकमा लेख्नुहुन्न भनेर सम्झाउँदा समेत नमानेपछि उनलाई पक्राउ गरिएको बुझिएको छ ।

यस्तै, पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई पनि उनले गम्भीर अपराधीझैं तस्बिर राखेका थिए । आचार्यले जिल्ला अदालत मोरङमा मानहानी सम्बन्धी उजुरी दिएपछि मुद्दा काफ्लेविरुद्ध चलिरहेको छ । यसैगरी, पथरीशनिश्चरे–१ नं. वडा कार्यालयको बद्नाम हुने विषयमा प्रमाणबिनै सामाजिक सञ्जालमा लेखेपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । सो कसुरमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो।