विराटनगर— इण्डियन इनर्जी एक्सचेञ्ज (आईइएक्स) बाट थप ६०० मेगावाट विद्युत आयात गर्न भारतले स्वीकृति दिएसँगै पूर्वको सुनसरी-मोरङ औद्योगिक करिडोरमा ६ घण्टासम्म लोडसेडिङ घटेको छ। भारतबाट विद्युत आयात नहुँदा १२ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका उद्योगीले केही राहत पाएका छन्।


यसअघि, भारतले प्रोजेक्ट स्टेरिङ कमिटी (पीएससी) अन्तर्गत दिइँदै आएको ३५० मेगावाट विद्युत आपूर्ति रोक्दा यहाँका उद्योगहरूले रातको समयमा १२ घण्टा लोडसेडिङको सामना गर्नुपरेको थियो। यसले गर्दा उद्योगले ७० प्रतिशत उत्पादन कटौती गरी मजदुरलाई बिदामा पठाउन थालेका थिए।
शनिबारदेखि उद्योगहरूको विद्युत खपतको आधारमा ६ देखि ७ घण्टासम्म लोडसेडिङ घटेको उद्योगीहरूले बताएका छन्। उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार, अब औद्योगिक करिडोरमा साँझको पिक आवर बाहेक सरदर ५-६ घण्टामात्रै विद्युत कटौती भइरहेको छ।

सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ उद्योग, जसले १४ मेगावाट बिजुली खपत गर्छ, शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म मात्र विद्युत आपूर्ति बन्द भएको थियो। उद्योगका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार, विद्युत आपूर्ति शनिबारदेखि झण्डै ७ घण्टा कम भएपछि मजदुरलाई पुनः काममा फर्कन आह्वान गरिएको छ।
औद्योगिक करिडोरमा लोडसेडिङ घटेसँगै उत्पादन कटौती ७० प्रतिशतबाट ५० प्रतिशतमा झरेको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले बताए। लोडसेडिङको समय घटेसँगै औद्योगिक क्षेत्रका उद्योगहरूले थप उत्साह अनुभव गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा मुलुकलाई लोडसेडिङमुक्त घोषणा गरे पनि सुनसरी-मोरङ औद्योगिक क्षेत्र नियमित लोडसेडिङको मारमा थियो। प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट थप विद्युत आयात गरेर लोडसेडिङ हटाउने प्रतिबद्धता जनाएपछि यो प्रगति भएको हो।
प्राधिकरणका लोड डिस्प्याच सेन्टरका अनुसार, भारतबाट ८०० मेगावाटसम्म आयात गरेर लोड व्यवस्थापन भइरहेको छ। पिक आवरमा केही समस्या भए पनि क्रमशः सबै क्षेत्रलाई लोडसेडिङमुक्त बनाउन पहल भइरहेको प्राधिकरणका अधिकारीले जनाएका छन्।
सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र कटहरी, बुढीगंगा र दुहबी क्षेत्र पर्दछन्। यहाँका करिडोरमा ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स, र ११ केभी रानीबाट विद्युत आपूर्ति भइरहेको छ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीका अनुसार, शनिबारदेखि ६ घण्टा लोडसेडिङ घट्नुले औद्योगिक क्षेत्रमा राहत पुगेको छ। मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले पनि लोडसेडिङ घट्नु सकारात्मक पक्ष भएको भन्दै यसलाई पूर्ण रूपमा हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
clickmandu.com बाट साभार