अहमदाबाद— रॉयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले १८ वर्षको लामो प्रतिक्षा अन्त्य गर्दै आफ्नो पहिलो इन्डियन प्रिमियर लिग (आइपिल ) उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा आरसीबीले पंजाब किंग्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।

विराट कोहली, जसले २००८ देखि आरसीबीसँग आफ्नो सम्पूर्ण आइपिल करियर बिताएका छन्, यो उपाधि जितपछि अत्यन्तै भावुक भए। उनले भने, "मैले यो टिमलाई मेरो जवानी, मेरो उत्कृष्ट समय र मेरो अनुभव दिएको छु। प्रत्येक सिजनमा मैले मैदानमा पुग्दा पूर्ण आशा र जित्ने चाहनासँग कदम चालेको थिए। यो क्षण अन्ततः आउनु... अविश्वसनीय छ।" 

फाइनल खेलमा, कोहलीले ४३ रनको महत्वपूर्ण योगदान दिए। आरसीबी ले २० ओभरमा १९० रन बनायो, जसको जवाफमा पंजाब किंग्स १८४ रनमै सीमित भयो। आरसीबीका बलरहरू क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड र यश दयालले उत्कृष्ट प्रदर्शन गरे। 

खेलपछि, कोहलीले आफ्नो पत्नी अनुष्का शर्माको समर्थनको लागि धन्यवाद दिए। उनले भने, "मेरो जीवनसाथीले  मलाई खेल खेल्न सक्षम बनाउनका लागि त्याग, प्रतिबद्धता, र सधैं समर्थ गरेकी छिन— यो शब्दमा व्यक्त गर्न सकिँदैन।" 

आरसीबी को कप्तान राजत पाटीदारले भने, "यो उपाधि विराट कोहलीभन्दा अरु कोही पनि योग्य छैन।"

आरसीबीको यो ऐतिहासिक जितपछि बेंगलुरुमा भव्य उत्सव मनाइएको छ। "एसाला कप नाम्दु " को नारासँगै शहरभरि विजयको उत्सव छाएको छ, र आज, ४ जुनमा, विशेष विजय परेड आयोजना हुनेछ।

यो उपाधि जितसँगै, विराट कोहलीले आफ्नो १८ वर्षे सपना पुरा गरेका छन्, र आरसीबी ले अन्ततः आफ्नो पहिलो आइपिल  उपाधि जितेको छ।