थाइल्याण्ड — थाइल्याण्डको उत्तरादित प्रान्तमा एक ८ वर्षीय बालकको हृदयविदारक अवस्था सार्वजनिक भएको छ, जसले सम्पूर्ण समाजलाई झस्काएको छ। वर्षौँदेखि लागूपदार्थ दुर्व्यसनमा लिप्त रहेकी आमाबाट बेवास्ता भएपछि ती बालक भुस्याहा कुकुरहरूको संगतमा हुर्किन बाध्य भएका थिए।

दैनिक जीवन कुकुरसँग बिताउन थालेपछि उनी कुकुरकै चालचलन र बोली व्यवहार नक्कल गर्न थाले। उनी मानिस भए पनि बोल्न सक्दैनन्, बरु कुकुरझैँ भुकेर संवाद गर्छन्।

फाउन्डेशन फर चिल्ड्रेन एन्ड वुमेनकी पाविना होङसाकुललाई उक्त पीडादायक घटनाको बारेमा  लाप लाए जिल्लास्थित एक विद्यालयका प्रधानाध्यापकले जानकारी गराएका थिए । ती बालकलाई उनकी आमाले एकपटक मात्र विद्यालय ल्याएकी थिइन् र त्यो पनि सरकारी सहायता पाउनका लागि मात्र ।

तर, उनले छोरालाई कहिल्यै पनि विद्यालयमा भर्ना गरिनन् । साथै उनलाई घरमा पनि कुनै हेरविचार र स्याहारसुसार गरिनन् । आफ्नी आमा र दाजुले भावनात्मक रूपमा त्यागेपछि ती बालकले माया र साथको खोजीमा भुस्याहा कुकुरहरूको झुन्डसँग नजिकिए । उनी कुकुरसँगै खेल्न थाले, बस्न थाले र अन्ततः कुकुरको व्यवहार नक्कल गर्न थाले। यतिसम्म कि उनी बोल्नुको साटो भुक्न थाले ।

पाविना होङसाकुलले तत्कालै लाप लाए जिल्लाको स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाइन्। छानबिनका क्रममा प्रधानाध्यापकले दिएका सबै सूचना सही भएको पुष्टि भयो। प्रहरीले ती  बालककी ४६ वर्षीया आमा र २३ वर्षे दाजुको परीक्षण गर्दा दुवैजनाको शरीरमा लागुपदार्थ सेवनको लक्षण भेटियो। ती दुवै जनाले बालकको हेरचाह नगरी धेरैभन्दा धेरै लागुपदार्थ सेवन गर्नमा केन्द्रित थिए ।

ती महिलाले प्रायः पैसा र खानेकुरा मागेर जीवन गुजारा गरिरहेकी थिइन् । उनले लागुपदार्थ सेवन गर्ने कुरा सबैलाई थाहा भएकाले गाउँलेहरू उनको परिवारबाट टाढा रहन्थे । त्यसैले उक्त बालकसँग गाउँका अन्य बालबालिका खेल्दैनथे । घरभित्र पनि आमा र दाजुले उपेक्षा गरेपछि ती बालकले कुकुरहरूको साथमा आफूलाई सुरक्षित महसुस गर्न थाले अनि कुकुरकै चाल र बोली नक्कल गर्न थाले ।

थाई पत्रिका खाओसोदका अनुसार ती बालकको उद्धार गरी हाल उनलाई उत्तरादित बाल गृहमा राखिएको छ । बोल्नै नजानेका ती बालकलाई विशेषज्ञहरूले उनलाई मानवीय भाषा बोल्न सिकाउने प्रयास गरिरहेका छन्। सरकारले ती बालकको औपचारिक शिक्षा सुनिश्चित गर्नेछ। गोपनीयताका कारण बालकको नाम चाहिँ सार्वजनिक गरिएको छैन ।